सर्लाही । नेपाल किसान महासंघ सर्लाही जिल्ला कार्य समितिद्वारा आयोजित धान रोपाई तथा किसान सम्मान कार्यक्रम आइतबार वसवरीयामा उत्साहका साथ सम्पन्न गरिएको छ। कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले गरेका थिए।
‘आफ्नो देशको उत्पादन हाम्रो शानः कृषिमा उन्नति हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता सिंहले किसानको समस्या समाधानका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए। उनले किसानहरूलाई आवश्यक पर्ने मलखाद समयमा नै उपलब्ध गराउन संघीय सरकार तथा मधेस प्रदेश सरकारलाई आग्रह गरे।
नेता सिंहले जलवायुमैत्री प्रविधि, आधुनिक कृषि प्रणाली र उन्नत बीउको प्रयोगमार्फत धान, मकैजस्ता बालीको उत्पादनमा वृद्धिका लागि सरकारलाई ठोस नीति ल्याउनुपर्ने बताए। “हाम्रो पार्टी सधैं किसानका हकअधिकारका लागि आवाज उठाउँदै आएको छ,” सिंहले भने, “अब दीर्घकालीन सोचका साथ कृषि सुधारमा लाग्नुपर्ने समय आएको छ।”
उनले मधेस प्रदेशमा नेपाली कांग्रेसकै नेतृत्वमा कृषि मन्त्रालय रहेको भन्दै आधुनिक खेती प्रणाली, सिँचाइ सुविधा र बजार व्यवस्थापनको पहुँच विस्तार गर्न बजेट र कार्यक्रम समावेश गरिएकाले त्यसलाई कार्यान्वयनमा ल्याउन सशक्त पहल गरिने बताए।
सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार नेता सिंह किसानका समस्यासँग निकट छन् र त्यसको समाधानका लागि स्वयं सक्रिय भूमिका खेलिरहेका छन्।
कार्यक्रममा विभिन्न स्थानीय क्षेत्रका किसानहरूको सहभागिता रहेको थियो भने नेपाल किसान महासंघ सर्लाहीले जिल्लाका अन्य ठाउँहरूमा पनि धान रोपाई कार्यक्रमहरू आयोजना गरेको जनाएको छ।
प्रतिक्रिया