बेलबारी । बेलबारी नगरपालिकामा आर्थिक पारदर्शिताको माग गर्दै आवाज उठाउने समूहमाथि मेयर दिलप्रसाद राईले दमन र अपमानजनक व्यवहार गरेको आरोप लागेको छ। असार १२ गते नगरपालिकाभित्र घटेको घटनापछि नागरिक समाज, उपप्रमुख र स्थानीय अगुवाहरू खुला रूपमा नगर कार्यपालिकासँग आमनेसामने भएका छन्।
सोमबार स्वतन्त्र नागरिक समूहले पत्रकार सम्मेलन गर्दै नगरपालिकाभित्र लेखा प्रमुख र इन्जिनियरसहितका कर्मचारीहरू घुसबिनाका काम नगर्ने, तेल कुपन वितरणमा अनियमितता गर्ने, साना–ठुला काममा बारम्बार अवरोध गर्नेजस्ता दुराचारमा संलग्न रहेको आरोप लगाएका छन् ।
१ करोड ३३ लाख रुपैयाँ खर्च गरेर खरिद गरिएको विद्युतीय नगर बस समेत ३ महिनादेखि प्रयोगविहीन रहेको भन्दै विरोधको आवाज उठ्न थालेको छ । त्यस्तै, बेलबारी–१ को व्यापारिक कम्प्लेक्स, बेलबारी–२ को रमिते भ्यु टावर, वडा कार्यालयहरू र नगर अस्पतालजस्ता महत्त्वपूर्ण योजना अलपत्र अवस्थामा छन्।
यही पृष्ठभूमिमा उपप्रमुख नितु थापा कोइरालाले लेखा प्रमुखसँग खर्च विवरण मागेपछि परिस्थिति झन् चर्किएको हो। लेखा प्रमुखले हिसाब देखाउन अस्वीकार गरेपछि स्थानीय नागरिकले सूचनाको हकमार्फत कागजात माग गरेका थिए ।
नागरिक समाज आक्रोशित एवं आन्दोलित हुनुको चुरो विषय असार १२ गतेको एउटा घटनासँग गाँसिएको छ। नागरिक समाजलाई नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले साथ दिएकी छन् ।
यसअघि असार १० गते उपप्रमुख कोइरालाले लेखा प्रमुख धनमाया राईसँग विभिन्न शीर्षकमा भएको खर्च विवरण मागेकी थिइन् । आर्थिक अपारदर्शिताको विषय बाहिर आएपछि उनले हिसाबकिताब मागेकी हुन् । लेखा प्रमुख राईले ‘हिसाब हेर्न दिन नमिल्ने’ भनेर असहयोग गरेपछि स्थानीय अगुवाहरूले सूचनाको हक प्रयोग गरेर विवरणहरू माग गरेका थिए ।
त्यसै सिलसिलामा केही युवाहरू लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा पुग्दा नगर प्रहरीले गेटमै रोकेका थिए । जबरजस्ती प्रवेश गर्न खोज्दा बल प्रयोग गरिएको र तानातानसमेत भएको बताइएको छ ।
विवादको क्रममा मेयर राई स्वयं आक्रोशित हुँदै भिडलाई नियन्त्रण गर्ने प्रयासमा अपमानजनक भाषा प्रयोग गरेको भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा मेयर ‘४ जनासँग भिड्न सक्छु’ भनेर धम्क्याउँदै भिडलाई रोक्न खोजिरहेको देखिन्छ।
त्यही घटनालाई लिएर असार १३ गते नगरका कर्मचारीहरूले पेन डाउन गर्दै आन्दोलनको घोषणा गरे भने, नेकपा (एमाले) नगर कमिटीले विज्ञप्ति जारी गरी नागरिकमाथि गलत टिप्पणी गरेको भन्दै आलोचना गरेको छ ।
नागरिक अगुवा प्रतापकुमार थापाले पारदर्शिता माग्दा नागरिक समाजमाथि मिथ्या आरोप लगाउनु गैर जिम्मेवार कदम भएको बताए।
महालेखा परीक्षकको प्रतिवेदनलाई समेत उदाहरण दिँदै नागरिक समूहले नगरपालिकामा १६ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको बेरुजु रहेको औँल्याएका छन्। प्रतिवेदन जेठ ६ गते नै प्राप्त भए पनि नगरको वेबसाइटमा अझै सार्वजनिक गरिएको छैन।
थापाले नगर प्रमुखको आलोचना गर्दै भने, ‘ आफू शासक होइन, प्रतिनिधि हो भन्ने बोध हुनुपर्छ। नागरिकको आवाज सुन्ने जिम्मेवारी जनप्रतिनिधिको हो।’
नागरिक अगुवाहरूले दोषी कर्मचारीमाथि निष्पक्ष छानबिन, खर्च विवरण सार्वजनिक, सूचनाको अधिकारको सम्मान र नागरिक–प्रशासन सहकार्यमा समृद्ध नगरको निर्माणको माग गरेका छन्।
यता, मेयर र उपमेयरबिच तालमेलको अभाव देखिँदै आएको छ। राई एमालेबाट र कोइराला काँग्रेसबाट निर्वाचित भएकाले राजनीतिक ध्रुवीकरणले प्रशासनिक काममा असर पुर्याएको टिप्पणी सार्वजनिक हुन थालेका छन् । यद्यपि नागरिक समूहले यो विवाद ‘राजनीतिक टसल’ नभई ‘बेथिति र सुधार’ बिचको सङ्घर्ष भएको स्पष्ट पारेका छन्।
मेयर राईले भने यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् छन्। ‘म छलफलमा छु, यो विषय विवाद गर्नेहरूलाई नै सोध्नुहोस्,’ भन्दै उनले फोन काटेका छन् ।
प्रतिक्रिया