इटहरी : सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशाने डाँडाबाट ५५ किलो लागू औषध गाँजासहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति धनकुटा सहिदभूमि गाउँपालिका वडा नं. २ का ५४ वर्षीय तेजबहादुर राई रहेका छन् ।
आज (सोमबार) दिउँसो १२ः३० बजेतिर विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गरेको थियो ।
चेकजाँचको क्रममा बसको यात्रु प्यासेजमा रहेको दुई वटा बोरामा केरा र तितेपातीको पातले छोपेर राखिएको अवस्थामा गाँजा जस्तो देखिने लागू औषध फेला परेको थियो ।
गाँजा कुल ५५ किलो तौल भएको र उक्त लागू औषध सोही बसका यात्री तेजबहादुर राईकै भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान ल्याइएको प्रहरीले जनाएको छ ।
हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया