इटहरी : विधानतः हरेक दुई महिनामा बस्नुपर्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक करिब नौ महिनापछि बसेको छ । यो बैठकले केवल संगठनात्मक तयारी मात्रै होइन, नेतृत्वको शैली र पार्टीभित्रको संवादहीनतालाई पनि पुनः सार्वजनिक बनाएको छ ।
पार्टीका प्रवत्ता डा. प्रकाशसरण महतका अनुसार सोमबार सुरु भएको बैठक अझै चार–पाँच दिनसम्म चल्ने छ । महतका अनुसार, सभापति शेरबहादुर देउवाले आफ्नो नीति तथा प्रतिष्ठान सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु र महामन्त्रीद्वारा क्रियाशील सदस्यताको रिपोर्ट पेश गर्नु बाँकी रहेको छ ।
भातृ संगठनहरू अधिवेशनविहीन, म्याद थपको सम्भावना
बैठकमा विभिन्न भातृ संगठनहरूको अधिवेशन समयमै सम्पन्न हुन नसकेको विषयमा सम्बन्धित नेताहरूले आफ्नो दृष्टिकोण राख्ने तयारी गरेका छन् । सम्भवतः केही संगठनको म्याद थपिने संकेत पनि प्रवक्ताले गरेका छन् । यसले पार्टीभित्रको संस्थागत स्थायित्वप्रतिको प्रश्न उठाएको छ ।
पार्टी सरकारभित्र, समीक्षा बाहिर
बैठकमा प्रदेश सरकारका मन्त्रीहरूबाट आफ्ना मन्त्रालयले गरेका कामको विवरण पेस गर्ने कार्यक्रम पनि रहेको छ । तर, आलोचना यो पनि उठेको छ कि पार्टी नेतृत्वले संघीय सरकारमा गरिरहेको कार्यप्रदर्शनको ठोस मूल्याङ्कन गर्न सकेको छैन ।
बैठकमा पार्टीको एक सय दिने अभियानमा खटिएका प्रतिनिधिहरूले बुझाएको प्रतिबेदनले संगठनको धरातलको वास्तविकता कस्तो छ भन्ने झल्को दिनेछ । खासगरी, क्रियाशील सदस्यता वितरण प्रक्रिया र स्थानीय तहसम्मको संगठनात्मक सुदृढीकरणको अवस्थाबारे यसले महत्त्वपूर्ण सन्देश दिन सक्छ ।
समसामयिक राजनीतिक अवस्था जसमा सत्तारूढ गठबन्धनभित्रको असमझदारी, भ्रष्टाचार अभियोग र जनमतको असन्तुष्टि प्रस्ट देखिन्छ । त्यसबीच नेपाली कांग्रेसको रणनीति के हुन्छ भन्ने प्रश्न अनुत्तरित छ । यस बैठकले त्यो उत्तर दिन सक्ने अपेक्षा गरिए पनि स्पष्ट दिशा नदेखिएको भन्दै आलोचना हुन थालेको छ ।
प्रतिक्रिया