कुलिङ पिरियड: रामहरि खतिवडाको राजीनामा माग गर्ने तयारीमा रास्वपा

मंगलबार, १७ असार २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर 'कुलिङ पिरियड' घुसाउने राज्य व्यवस्था सभापति रामहरि खतिवडाले राजीनामा दिनु पर्ने बताएका छन् । 

राज्य व्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसद्मा सो विधेयक प्रतिवेदन लैजाँदा सभापति खतिवडाले घुसाएर पठाएर पास समेत गराएको भन्दै सांसद झाले राजीनामा माग गरेका हुन् ।

‘राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा ज्यु, निजामती विधेयकमा, तपाईँले सङ्घीय सदनको रोस्टमबाट टेबल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ झाले प्रश्न गर्दै भनेका छन कि, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।’

उनले सो विधेयक पारित गराउने सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूलाई पनि सामाजिक सञ्जालबाट व्यङ्ग्य गरेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ र  ‘हुँदैन’ भन्ने (सांसद)हरूलाई ‘कुरी कुरी’ ।’ 

रास्वपाले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको बेला अब राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाको राजीनामा माग गर्ने तयारी गरेको बुझिएको छ ।

निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' नराख्ने सहमति समितिमा भए पनि संसद्मा पुगेको विधेयकमा भने 'कुलिङ पिरियड' राखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ  । 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार