ग्लोबल आइएमई क्यापिटलको १ अर्ब २० करोडको म्युचुअल फन्ड निष्काशन हुँदै, कस्तो छ कम्पनी ?

विहीबार, १९ असार २०८२

काठमाडौं । ग्लोवल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखेको छ । योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।

मुख्य विशेषताहरू :  

बन्दमुखी यो योजनामा प्रारम्भिक १.२० अर्ब (अत्याधिक माग भएमा १.५० अर्बसम्म) पुर्याइने कम्पनीको भनाइ छ । प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ । सर्वसाधारणका लागि १२ करोड इकाई निष्काशन गरिने छ भने न्यूनतम १०० इकाई र अधिकतम योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई किन्न सकिने छ । योजना अवधि इकाई बाँडफाँड गरेको मिति देखि १० वर्ष रहनेछ । कम्पनीले व्यवसायिक व्यवस्थापन, विविधीकरण, सस्तो लगानी,पारदर्शिता, कर छुट तथा लगानीकर्ता संरक्षण गर्न उक्त योजनामा लगानी गर्नुपर्ने कारण मानेको छ ।

लगानी प्रतिफल

क्यापिटलको यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ। ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त गरी ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार