सुनसरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही भन्सार नजिकबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ लागू औषध ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय मनिष लिम्बु र इनरुवा–११ का १९ वर्षीय मनिष राई स्कुटरमार्फत नेपाल प्रवेश गर्दै थिए। को. ३८ प. ७९६० नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्दा चालक मनिष लिम्बुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ५.९४ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुवै जनालाई स्कुटरसहित नियन्त्रणमा लिइएको छ।
त्यसैगरी, पैदल नेपालतर्फ आइरहेका कोशी गाउँपालिका–४ का २४ वर्षीय सम्साद मियाको साथबाट नाइट्रोजोम –१० ट्याब्लेट ६ पिस, स्पास्मो प्रोक्सीभोन क्याप्सुल ९ पिस र ४०० ग्राम गाँजा फेला परेको छ।
यस्तै, इनरुवा नगरपालिका–४ का २० वर्षीय शिवदेव खत्वे र ऐन्याथोक–३ का २० वर्षीय नितेश स्वर्णकार पनि लागू औषधसहित पक्राउ परेका छन्। तीमध्ये शिवदेव खत्वेको साथबाट ०.२५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार सीमावर्ती क्षेत्र भएर लागुऔषधको ओसारपसार पुनः सक्रिय बन्दै गएको छ, जसलाई रोक्न निगरानी र चेकजाँच कडा पारिएको छ।
प्रतिक्रिया