धरानका दुई आपराधिक घटनामा संलग्न चार जना पक्राउ, एकको खोजी जारी

शुक्रबार, २० असार २०८२

धरान । धरान उपमहानगरपालिकामा हालै भएका दुई फरक आपराधिक घटनामा संलग्न रहेका चार जना अभियुक्त पक्राउ परेका छन् भने एक जनाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

सुनसरीको धरान–१० स्थित सैनिक चौकमा असार १२ गते साँझ समिर राईमाथि धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरिएको थियो। मोटरसाइकलमा आएका चार जनाले खुकुरी, फलामको रड र हेलमेट प्रयोग गरेर समिरलाई आक्रमण गरेका थिए। राई गम्भीर घाइते बनेका थिए भने आक्रमणकारी फरार भएका थिए।

उक्त घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै मोरङको विराटनगर महानगरपालिका–१३ बाट असार १७ गते घटनामा प्रयोग भएको को २० प ७५६३ नम्बरको मोटरसाइकलसहित चालक साईमन चौधरीलाई नियन्त्रणमा लियो। त्यसपछिका दुई दिनमा घटनामा संलग्न पासाङ शेर्पा र प्रशान्त प्रधानलाई पनि धरानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए। चौथो अभियुक्त अजय खड्का भने हालसम्म फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार घटना लागू औषध कारोबारको लेनदेन नमिल्दा भएको खुलेको छ। प्रहरीका अनुसार आक्रमणमा प्रयोग गरिएको खुकुरी, फलामको रड र मोटरसाइकलसमेत बरामद गरिएको छ।

यसैबीच धरान–१५ मा गत चैत्र २४ गते भएको घर फोडी चोरी घटनामा संलग्न सोनाम लामा पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक घर भई हाल बेथानचोक गाउँपालिका–६ मा बसोबास गर्दै आएका ४१ वर्षीय लामा काठमाडौंको दरबारमार्ग क्षेत्रबाट असार १४ गते पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले धरानका दुई घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको नगद, दुई तोला सुन र १७ तोला चाँदी चोरी गरेका थिए। सवारी साधन भाडामा लिएर मानिस नभएको घरको पहिचान गरी ढोका फोड्ने र चोरी गर्ने शैलीमा उनी संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका अभियुक्तहरूमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धरानमा अपराध नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार