काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् ।
शुक्रवार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गर्ने हो भने जुनसुकै बलिदान गर्न पनि तयार रहेको बताए ।
उनले भने, ‘पार्टीका बारेमा केही मानिसले नकारात्मक टिप्पणीहरू गर्ने गरेका छन् । कसैले यो पार्टी चल्दैनन् भन्छन्, कसैले टिक्दैनन् भन्छन् । मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनु पर्दैन । यो धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस् जुनसुकै बलिदान गर्न पनि तयार छु ।’
यस्तै, उनले जीवनमा चुनौतीहरूको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्ने भन्दै अनुशासन, नियम र विधिको शासनमा अगाडि बढ्ने बताए ।
उनले भने, ‘मैले भन्ने गरेको छु । म अनुचित कुराको पक्षमा कहिले पनि रहँदिन, म जहिले पनि अनुशासन र नियमको पालना गर्ने, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, कहिले पनि बदलाको भावनामा नहिँड्ने, सबैलाई समेटेर लाने खालको मान्छे हुँ । अनि मलाई भन्छन् तपाई मान्छे चिन्नु हुदैँन् । जीवनमा यस्ता चुनौतीहरू आइरहन्छन्, यी चुनौतीको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्छ ।’
कुभलो चिताउने, कुभलो गर्ने व्यक्तिवाद प्रवृत्तिलाई पराजित गर्दै अगाडि बढ्नुपर्ने पनि उनको भनाइ छ ।
प्रतिक्रिया