रविको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिकका सईलाई कारबाही

शुक्रबार, २० असार २०८२

काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरी सहायक निरीक्षक (सई) कमल खड्कामाथि कारबाही गरिएको छ।

नेपालगञ्जमा कार्यरत सई खड्कालाई ड्युटीबाट हटाउँदै प्रहरी मुख्यालयमा स्पष्टीकरणका लागि बोलाइएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले सई खड्कालाई हस्ताक्षर प्रकरणका विषयमा बुझ्न मुख्यालय झिकाइएको पुष्टि गरेका छन्।

रास्वपाले सहकारी ठगी आरोपमा थुनामा रहेका आफ्ना सभापति रवि लामिछानेविरुद्ध सरकारको व्यवहारलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्दै समर्थनमा हस्ताक्षर अभियान चलाइरहेको छ। यही अभियानमा ट्राफिक सई खड्काले समेत हस्ताक्षर गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी प्रहरी छानबिनको दायरामा तानिएका हुन्।

सार्वजनिक पदमा रहेर राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा खड्कालाई तत्काल जिम्मेवारीमुक्त गरिएसँगै उनीमाथि अनुशासन उल्लंघनसम्बन्धी छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार