भोजपुर सामूहिक हत्याकाण्ड : चारै शवको इटहरीमा गरियो अन्त्येष्टि

सोमबार, २३ असार २०८२

इटहरी(डेक्स) : भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति भएको सामूहिक हत्याकाण्डमा मारिएका चार जनाको इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ । 

धरानमा पोष्टमार्टम गराएर शवलाई परिवारको जिम्मा लगाएपछि सोमबार साँझ इटहरीस्थित मुक्तिघाटमा परिवारले अन्त्येष्टि गरेका हुन् । 

हत्या गरिएका १६ वर्षीया मनिषा गिरी, ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी र ९ वर्षीय सपन गिरीको हो । 

घटनापछि शवलाई आइतबार जिल्ला अस्पताल भोजपुर लगिए पनि पोस्टमार्टम उपकरण अभावमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।

हत्या प्रकरणका अभियुक्त ३० वर्षीय राजेन्द्र राई आफैँ पनि घाइते अवस्थामा भेटिएका थिए । हाल उनी पनि प्रहरीको निगरानीमै धरानको बिपी प्रतिष्ठानमा उपचाररत रहेका छन् ।

राईले प्रेम विवाह गरेकी श्रीमती मनिषा गिरी र उनका परिवारको हत्या गरेको स्वीकार गरेका छन् । 

‘बिरामीको उपचार र शवको पोष्टमार्टमपछि थप खुल्न सक्छ । प्रहरी अनुसन्धानकै क्रममा रहेको छ ।’ जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी युवराज तिमिल्सिनाले प्रदेश खबरसँग भने । 

यो पनि 

भोजपुरको सामूहिक हत्या : चारवटै शवको धरानमा पोस्टमार्टम, अन्त्येष्टि इटहरीमा हुने

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार