काठमाडौं : नेपाल चिकित्सक संघ र सरकारबीच मंगलबार साँझ भएको वार्तापछि सहमति जुटेसँगै चिकित्सकहरूले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।
स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीहरू र स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया तथा उद्योग मन्त्री दामोदर भण्डारी सहितको उपस्थितिमा भएको छलफलले चिकित्सकहरूको माग सम्बोधन गर्ने सहमति गरेको हो।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्लो फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आकस्मिक सेवा बाहेक देशभरका अस्पताल सेवा ठप्प पार्ने आन्दोलन सुरु गरेको थियो।
संघले उपभोक्ता ऐन र मुलुकी फौजदारी ऐन संशोधन गर्नुपर्ने माग अघि सारेको थियो। पछिल्लो समयमा उपभोक्ता अदालतले ओम अस्पताल, हिमाल अस्पताल र ग्रान्डी सिटी अस्पताल लगायतका चिकित्सक तथा संस्थालाई उपचार लापरबाहीको दोषी ठहर गर्दै लाखौं क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।
चिकित्सकहरूले ती फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलन चर्काउँदै आएका थिए। तर मंगलबारको सफल वार्तापछि संघले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको घोषणा गरेको हो।
सरकार र संघबीच भएको सहमतिको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताइएको छ। यस सहमतिसँगै अब अस्पतालहरूमा नियमित सेवा पुनः सुचारु हुने भएका छन्।
प्रतिक्रिया