काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा शेखर कोइराला पक्षले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएको छ । आज बसेको कोइराला समूहको भेलाले अनुशासनको नाममा गरिएको पछिल्लो कारबाही एमाले शैलीमा आधारित भएको निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी नेताहरूले कांग्रेसको अनुशासन समितिले पछिल्लो समय पार्टी नेताहरूलाई गरिएको कारबाही विधिसम्मत नभएको र स्वेच्छाचारी ढंगबाट गरिएको टिप्पणी गरे । उनीहरूका अनुसार अनुशासन समितिले पार्टी विधानको स्पष्ट उल्लङ्घन गरेको छ ।
नेता राजेन्द्र बजगाईंले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही प्रक्रिया टुंग्याउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै समितिको निर्णय नै नियमविपरीत रहेको बताए । “विधिसम्मत रूपमा प्रक्रिया अघि नबढाई गरिएको कारबाहीले नै अनुशासन समितिले अनुशासन उल्लङ्घन गरेको देखिन्छ,” उनले भने ।
बैठकमा नेताहरूले कारबाहीको पछाडिको मक्सद आन्तरिक आलोचकहरूलाई थुनिन खोज्नु रहेको आरोप पनि लगाए । उनीहरूले गठबन्धनको सम्भावित चुनावी समीकरणका कारण आफ्नो धारणामाथि शंका गर्दै कारबाही गरिएको बताउँदै यस्तो प्रवृत्ति सत्तारूढ दल नेकपा एमालेको शैलीसँग मेल खाने दाबी गरे ।
शेखर पक्षले आसन्न निर्वाचन वा मध्यावधिमा गठबन्धन बनाउने सन्दर्भमा आन्तरिक असहमतिलाई दबाउन अनुशासनको नाममा पूर्वाग्रही निर्णय गरिएको उल्लेख गरेको छ ।
प्रतिक्रिया