‘स्थायित्वको आधार मौद्रिक नीति’ : मोरङ उद्योग व्यापार संघको समर्थन

शुक्रबार, २७ असार २०८२

मोरङ : मोरङ उद्योग व्यापार सङ्घले नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको स्वागत गर्दै यसले मुलुकको आर्थिक स्थायित्व र निजी क्षेत्रको पुँजी निर्माणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ।

सङ्घका अध्यक्ष अनुपम राठीद्वारा शुक्रवार जारी विज्ञप्तिमा मौद्रिक नीतिले उद्योगी–व्यवसायीका सुझावलाई समेटेकोप्रति कृतज्ञता व्यक्त गरिएको छ। विज्ञप्तिअनुसार विद्यमान शिथिल अर्थतन्त्रलाई पुनः गतिशील बनाउन राष्ट्र बैङ्कको नीति प्रभावकारी बन्नेछ।

सङ्घले शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड, निजी आवासीय कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्‍याउने निर्णयलाई सेयर बजार तथा घरजग्गा कारोबारका लागि सकारात्मक पहलका रूपमा व्याख्या गरेको छ।

घरजग्गा मूल्याङ्कनको ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था र आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप्न पाइने व्यवस्था सङ्घले स्वागत गरेको हो।

त्यस्तै, साना तथा मझौला उद्योगलाई दिइने कर्जा सीमा २ करोडबाट ३ करोड पुर्‍याइनु,कृषि तथा लघु–घरेलु उद्योगका लागि सहज कर्जा पहुँच सुनिश्चित गर्नु र चालु पुँजी कर्जामा सहुलियत दिने प्रावधानले उद्योग क्षेत्रलाई ऊर्जा दिने सङ्घको ठहर छ।

सङ्घले मौद्रिक नीतिलाई समयसापेक्ष र यथार्थपरक ठहर गर्दै बजेटमा उल्लेख गरिएका सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयनमा नीतिले टेवा पुग्ने र लक्षित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मद्दत गर्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार