धरान : नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको प्रथम सेवा केन्द्रको सूचीबाट हटाउने निर्णय गरेपछि धरानमा विरोध र्याली गरिएको छ।
स्वास्थ्य बीमा बोर्डको निर्णयविरुद्ध आज धरानमा विभिन्न राजनीतिक दलहरू, स्थानीय जनप्रतिनिधि र नागरिक समाजको सहभागितामा सशक्त विरोध प्रदर्शन गरिएको छ।
धरान उपमहानगरपालिकामा कुनै सरकारी अस्पताल नहुँदा बीपी प्रतिष्ठान नै एक मात्र भरपर्दो स्वास्थ्य सेवा प्रदायक संस्था हो।
धरान भानुचोकमा आयोजित कोणसभामा बोल्दै धरानका उपमहानगरपालिकाका उपमेयर तथा माओवादी केन्द्रका नेता अईन्द्र विक्रम बेघाले संविधानले सुनिश्चित गरेको बाँच्न पाउने अधिकारलाई नै खोस्ने प्रयास भइरहेको बताएका छन् ।
उनले भने,'नेपाल सरकारका प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीज्यू, वीपीलाई हटाएर आम नागरिकको जीवनसँग खेलबाड नगरियोस्।'
गत असार ८ गतेको बीमा बोर्डको निर्णय अनुसार अब साउन १ देखि धरानका बीमा गरेका नागरिकहरूले बीपीमा सिधा उपचार पाउन सक्ने छैनन्। उनीहरूलाई पहिले सरकारी अस्पतालबाट रेफर गराएर मात्र बीपी जान पाउने व्यवस्था गरिएको छ।
तर धरानमा सरकारी अस्पताल छैन। बरु, सबै सरकारी स्वरूपका स्वास्थ्य सेवा बीपीले नै दिँदै आएको छ, जुन अब सेवा प्रदायक भएर पनि ‘दोस्रो दर्जामा सीमित गरिँदा हजारौँ बीमित नागरिक प्रभावित हुने देखिएको छ।
विरोध कार्यक्रम माओवादी केन्द्रको नेतृत्वमा, जसपा नेपाल र नेकपा (एकीकृत समाजवादी)को सहकार्यमा सम्पन्न भएको थियो। छाताचोकस्थित पुरानो अस्पतालअघिबाट सुरु भएको र्याली, सिंहदेवी, माछाभौडी हुँदै भानुचोकमा कोणसभामा परिणत भएको थियो।
प्रदर्शनमा बिमा सेवामा धरानको बहिष्कार स्वीकार्य छैन, सिधा सेवा दे, सिफारिस हटाउ आम नागरिकको आवाज दबाउन पाइँदैन भनेर नारा सहित विरोध र्याली गरिएको थियो।
विरोध कार्यक्रमका संयोजक एवं माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बुले बीमा बोर्डको निर्णयलाई जनविरोधी, निर्णय प्रक्रिया विहीन र अव्यवहारिक भएको बताए।
उनले आइतबार प्रतिष्ठानका पदाधिकारीहरूसँग छलफल गरेर, प्रमुख जिल्ला अधिकारी ९सीडीओ०मार्फत स्वास्थ्य मन्त्रालय र बीमा बोर्डमा औपचारिक ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् ।
उनले भने,'यदि त्यो पनि बेवास्ता गरियो भने धरानका सबै राजनीतिक दल, नागरिक समाज र जनप्रतिनिधिहरूको बैठक बसेर आन्दोलनको अर्को चरण तय गरिनेछ र त्यो दबाब अब बोर्डकै कार्यालयसम्म पुर्याइनेछ।'
जसपा नेपालका नेता ताजुब लिम्बुले बीपी प्रतिष्ठानलाई निजी अस्पताल जस्तो व्यवहार नगरिनुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया