इलाम : इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राई कफीका बिरुवा उत्पादन र बिक्री गरेर वार्षिक साढे १३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।
पाँच वर्षअघि स्थापना गरिएको ‘वाङदेल नर्सरी सेन्टर’मार्फत उनले यो वर्ष मात्रै ४५ हजार कफी बिरुवा बेचेर १३ लाख ५० हजार रुपैयाँ कमाएका हुन्।
फेवाखोला छेउ, गजुरमुखी–इभाङ–चतुरे सडकको किनारमा रहेको पाँच रोपनी क्षेत्रफलको नर्सरीमा उनी कफीसहित वनपैदावार र फलफूलका बिरुवा पनि उत्पादन गर्छन्। कफी बिरुवा प्रतिगोटा ३० रुपैयाँ र अन्य बिरुवा ४० रुपैयाँ दरमा बिक्री भइरहेको छ।
“कम समय र श्रममा राम्रो आम्दानी हुने भएकाले कफी बिरुवामा प्राथमिकता दिएको छु,” किसान राईले भने,“सङ्खुवासभा,भोजपुरदेखि भारतको सिक्किमसम्म यहाँबाट बिरुवा लैजाने गरिएको छ।”
उनको नर्सरीले लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वनस्पति र आँप, लिची, कटहरजस्ता फलफूलका बिरुवासमेत उत्पादन गर्छ। आफूले स्याहार, उखेलेर ग्राहकलाई दिने गरेको राईले बताए।
प्रदेश सरकारबाट समेत सहयोग पाएका राईले कृषि ज्ञान केन्द्र इलाममार्फत दुई वर्षअघि लागत साझेदारीमा दुई लाख रुपैयाँ अनुदान पाएका थिए। त्यसबाट टनेल निर्माण गरी नर्सरी थप व्यवस्थित बनाइएको हो।
कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लामा हाल १३५ हेक्टर क्षेत्रमा व्यावसायिक कफी खेती भइरहेको छ। किसान राजेश राई अब इलामका सफल नर्सरी उद्यमीका रूपमा स्थापित भएका छन्।
प्रतिक्रिया