सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि दुई उम्मेदवार आमनेसामने

आइतबार, २९ असार २०८२

धरान : सुनसरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनले अहिले स्थानीय तहको चुनावको झल्को दिइरहेको छ । वि.सं. २०१९ सालअघि व्यापार प्रवद्र्धन समितिको नाममा स्थापना भएर २०२० सालदेखि विधिवत् रूपमा सञ्चालनमा आएको संघको नेतृत्वका लागि यो निर्वाचनमा दुई अध्यक्ष पदका उम्मेदवार शिवराज श्रेष्ठ र गोपाल श्रेष्ठ आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

दुवै उम्मेदवारले पत्रकार सम्मेलनमार्फत एक अर्कामाथि आरोप–प्रत्यारोप गर्दै आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । केही समय अघि अध्यक्ष पदका प्रत्याशी शिवराज श्रेष्ठले पत्रकार सम्मेलन गरी प्रतिद्वन्द्वी गोपाल श्रेष्ठलाई “शक्ति केन्द्रसँग नजिकिने, चाप्लुसी गर्ने प्रवृत्तिका व्यक्ति“ भन्दै आरोप लगाए । 

उनले व्यवसायीहरूको हितभन्दा पनि गुट विशेषको पक्षमा काम गरेको प्रतिक्रिया समेत दिएका थिए । 

यस्तै अर्का उम्मेदवार गोपाल श्रेष्ठले आफ्नो प्यानलसहित पत्रकार सम्मेलन गर्दै ती आरोपको खण्डन गरे । “हामीलाई सिन्डिकेटको ट्याग लगाइए पनि त्यो वास्तविकता होइन,“ उनले भने, “हाम्रो टिममा अनुभवी, स्वच्छ छविका व्यवसायीहरू छन्, हामी सहभागिता मूलक नेतृत्वमा विश्वास गर्छौँ ।

शिवराज श्रेष्ठ यसअघि अध्यक्ष विजय श्रेष्ठसँग पराजित भएका थिए । यस पटक भने आफूले विगतको अनुभव र व्यवसायीहरूको विश्वासका आधारमा जित हासिल गर्ने उनले दाबी गरेका छन् । 

उता गोपाल श्रेष्ठले संघको नेतृत्वका लागि आफू योग्य भएको भन्दै पूर्व अध्यक्षहरूसहित अन्य व्यवसायीहरूको समर्थन पाएको बताएका छन् । पूर्व अध्यक्ष सरोज श्रेष्ठले पनि गोपाल श्रेष्ठको पक्षमा खुलेर समर्थन जनाएका छन् । “संघको विभिन्न तहमा लामो समयसम्म काम गरेको, व्यावसायिक दृष्टिले पनि सफल व्यक्ति गोपाल श्रेष्ठ हुन्,” सरोज श्रेष्ठले भने, “उहाँको जित लगभग सुनिश्चित छ ।”

दुवै पक्षले आ–आफ्ना एजेन्डा सार्वजनिक गरी धरानको सुस्ताएको व्यापार गतिविधि पुनः सक्रिय बनाउने, कर प्रणालीमा सहजता ल्याउने, सदस्यहरूबिच एकता र विश्वास कायम गर्ने, र व्यवसाय अनुकूल वातावरण सिर्जना गर्ने प्रतिबद्धता दुवै उम्मेदवारले बताएका  छन् । 

संघको निर्वाचन भोली हुँदै छ ।  

sunsari ubasang

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार