सपोर्ट लघुवित्तको उत्कृष्ट वित्तीय प्रदर्शन, नाफामा १४० प्रतिशतको वृद्धि

विहीबार, ०८ साउन २०८२

काठमाण्डौं : सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले नाफा, सञ्चालन आम्दानी तथा ब्याज आम्दानीमा उल्लेख्य वृद्धि गर्दै आफ्नो वित्तीय मजबुती प्रदर्शन गरेको हो। साथै, खराब कर्जा दरमा पनि उल्लेखनीय सुधार आएको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, खुद नाफा अघिल्लो वर्षको तुलनामा १४०.६३ प्रतिशतले बढेर ५ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै, खुद ब्याज आम्दानी ८ करोड ३० लाख रुपैयाँबाट बढेर १३ करोड ५२ लाख रुपैयाँ नाघेको छ। कुल सञ्चालन आम्दानी पनि १० करोड ५५ लाख रुपैयाँबाट बढेर १६ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

सञ्चालन नाफामा झनै उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष २ करोड ५७ लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष २०९.५९ प्रतिशतले बढेर ७ करोड ९६ लाख रुपैयाँ पुगेको हो।

हाल कम्पनीको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ९२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको जानकारी पनि वित्तीय विवरणमा उल्लेख छ।

खराब कर्जा अनुपात अघिल्लो वर्षको १.८२ प्रतिशतबाट घटेर १.५८ प्रतिशतमा झरेको छ, जसले कम्पनीको जोखिम व्यवस्थापनमा सुधार आएको देखाउँछ।

हाल सपोर्ट लघुवित्तको प्रति शेयर आम्दानी  ४१.८१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६९.६२ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार