राष्ट्र बैङ्कले कारबाही गरेका यी हुन १० बैङ्क, सीईओदेखि सञ्चालकसम्मलाई गराइयो सचेत

शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा दुई ‘क’ वर्गका वाणिज्य बैङ्क सिटिजन्स बैङ्क इन्टरनेसनल र एनआईसी एसिया बैङ्कलाई कारबाहीमा पारेको छ।

यससँगै एक वर्षभित्र राष्ट्र बैङ्कको नियामक कारबाहीको दायरामा पर्ने वाणिज्य बैङ्कको सङ्ख्या १० पुगेको छ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा व्यवस्थापनमा लापरबाही, नियामक निर्देशनको उल्लङ्घन, तथा संस्थागत सुशासनमा कमजोरी देखिएपछि ती बैंकका सञ्चालक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई समेत सचेत गराएको हो।

राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागका अनुसार, सिटिजन्स बैङ्कले सीईओको सेवा करारसम्बन्धी निर्देशिका उल्लङ्घन गरी अनुबन्ध संशोधन गर्दै अतिरिक्त सुविधा दिएको, आन्तरिक लेखापरीक्षकको निर्देशन अस्वीकार गरेको, कर्जा नोक्सानी व्यवस्थापनमा लापरबाही देखाएको तथा कर्जा रिपोर्टिङमा गलत विवरण प्रस्तुत गरेको पाइएपछि कारबाहीमा पर्‍यो।

एनआईसी एसिया बैङ्कले ऋणीलाई ब्याजदर, किस्ता लगायतका विषयमा स्पष्ट जानकारी नदिएको, कर्जा वर्गीकरणमा त्रुटि गरेको, सञ्चालक तथा सम्बद्ध संस्थालाई बढी ब्याजदर दिएको आरोपमा दुई पटक कारबाही भोग्नुपरेको हो।

यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, हिमालयन बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, लक्ष्मी सनराइज बैङ्क, नेपाल बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले पनि नियमन उल्लङ्घन, कर्जा प्रवाहमा कमजोरी, प्राथमिकता क्षेत्रको अवहेलना र जोखिम व्यवस्थापनमा कमजोरी देखाएपछि कारबाही खेप्नुपरेको हो।

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई पद तथा नाम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोपमा ५ लाख रुपैयाँ जरिमाना गरिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैङ्कलाई कर्जा प्रवाहमा गम्भीर कमजोरी देखिएको भन्दै १४ करोड ८५ लाख रुपैयाँभन्दा बढी जरिमाना गरिएको छ।

राष्ट्र बैंकका अनुसार बैङ्कहरूले सरकारले प्राथमिकतामा राखेका कृषि, ऊर्जा, साना तथा मझौला उद्यम क्षेत्रमा कर्जा प्रवाह नगरेको, तर झनझन ब्याजदर हेरफेर र जोखिमपूर्ण कर्जा विस्तारमा ध्यान केन्द्रित गरेको पाइएपछि यो कारबाही प्रक्रिया अघि बढाइएको हो।

बैंकिङ क्षेत्रमा वित्तीय अनुशासन, पारदर्शिता र सुशासनलाई मजबुत बनाउन राष्ट्र बैङ्कले अब थप कडा निगरानी र अनुशासनात्मक कार्यवाही गर्ने सङ्केतसमेत दिएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार