इटहरी : उद्यमशील युवा र व्यवसायीक सञ्जाल विस्तारमा सक्रिय नेपाल युवा उद्यम मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरले आफ्नो पहिलो साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। ‘Meet, Induct & Inspire’ मूल नारासहित आयोजित कार्यक्रम इटहरीको सोल्टी वेस्ट एन्डमा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख आकर्षण रहेका एफवान सफ्ट ग्रुपका निर्देशक सिद्धान्त ठकुरीले सहभागी युवाहरूसँग व्यावसायिक अनुभव साटासाट गर्दै डिजिटल बैंकिङ, फिनटेक, एआई प्रविधिको उपयोग र भविष्यका व्यावसायिक सम्भावनाबारे जानकारीमूलक प्रस्तुति दिए।
उनले नेपाली बैंकिङ क्षेत्रमा प्रविधि रूपान्तरणका अवसर र नवीन सोचका सम्भावनाबारे व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गरे।
कार्यक्रममा ५० भन्दा बढी व्यवसायी तथा युवा उद्यमीहरूको उपस्थिति रहेको थियो। एनवाईईएफले विभिन्न क्षेत्रबाट आएका १२ जना नयाँ सदस्यलाई औपचारिक रूपमा च्याप्टरमा स्वागत गर्दै स्थानीय उद्यमशीलता प्रवर्द्धनमा क्रियाशील हुने प्रतिबद्धता जनाएको छ।
संस्थाका केन्द्रीय सदस्य युनेशराज श्रेष्ठले एनवाईईएफको गतिविधि र रणनीतिबारे प्रस्तुति दिएका थिए भने कार्यक्रम सुनसरी च्याप्टर अध्यक्ष राजीव घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमका क्रममा सहभागीहरूले भविष्यमा सहकार्यका सम्भावना, प्रविधिमा नवीनतम विकास र स्थानीय व्यावसायिक वातावरण सुधारबारे गहन छलफल गरेका थिए। एनवाईईएफ सुनसरीले यस्ता कार्यक्रममार्फत युवा नेतृत्व, व्यावसायिक सञ्जाल र उद्यमशील सोचको प्रवर्द्धनमा योगदान दिने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया