पोखरा : नेपाली खेलकुदको प्रतिष्ठित सम्मान ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ पहिलोपटक काठमाडौँ बाहिर पोखरामा आयोजना हुने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आगामी भदौ २९ गते पोखरामा २२औँ संस्करण भव्य रूपमा गर्ने तयारी पूरा गरेको जनाएको छ।
कार्यक्रमका लागि मुख्य प्रायोजक गोल्छा ग्रुपसँग शुक्रवार पाँच वर्षका लागि पुनः प्रायोजन सम्झौता भएको छ। सम्झौताअनुसार गोल्छा ग्रुपले नगद तथा जिन्सी गरी ४० लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ। मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
गोल्छा ग्रुपले विगत १७ वर्षदेखि अवार्डमा मुख्य प्रायोजन गर्दै आएको छ। यस लामो सहकार्यलाई निरन्तरता दिँदै अभिमन्यु गोल्छाले नेपालमा एउटै कार्यक्रमसँग यति लामो साझेदारी दुर्लभ रहेको बताउँदै यसले आपसी विश्वास झल्काउने बताए।
यस वर्ष अवार्डमा उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन्। साथै स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट, टिम अफ द इयर र पारा एथलिट सम्मान प्राप्तकर्ताले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कुल १० विधामा अवार्ड प्रदान गरिनेछ।
महासचिव अञ्जन खड्काका अनुसार पिपल्स च्वाइस अवार्ड भोटिङमार्फत चयन हुनेछ भने केही दिनमै मनोनयन सार्वजनिक गरिनेछ।
गत वर्ष क्रिकेटका रोहित पौडेल, कराँतेकी एरिका गुरुङ, भारोत्तोलनका हेमन्त पाल र कराते प्रशिक्षक कुशल श्रेष्ठले अवार्ड जितेका थिए। पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन्।
प्रशिक्षक कुमार राई, पारा ओलम्पियन पलेशा गोवर्धन, दक्षिण कोरियाका पत्रकार ही डोङ जोङ र क्रिकेट सङ्घका पूर्व अध्यक्ष विनयराज पाण्डे विशेष अवार्डबाट सम्मानित भएका थिए। महिला कबड्डी टोलीलाई टिम अफ द इयर सम्मान प्रदान गरिएको थियो।
अध्यक्ष अधिकारीका अनुसार भ्रमण वर्ष २०२५ लक्षित गर्दै पोखरामा अवार्ड आयोजना गर्न लागिएको हो। उनले पर्यटकीय सहर पोखरालाई छनोट गर्नु मञ्चको ऐतिहासिक उपलब्धि भएको बताए।
कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले २२ वर्ष निरन्तर आयोजना र १७ वर्ष लामो प्रायोजन सहकार्य दुर्लभ उपलब्धि भएको उल्लेख गरे। अवार्डले खेलाडी र खेल पत्रकार दुवैलाई सम्मान गर्ने माध्यमका रूपमा योगदान दिँदै आएको उनले बताए।
प्रतिक्रिया