काठमाडौँ : डिजिटल भुक्तानी क्षेत्रमा क्रियाशील भुक्तानी सेवा प्रदायकहरूको छाता संस्था पीएसपी एसोसिएसनको अध्यक्षमा खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनय खड्का निर्वाचित भएका छन्।
संस्थापक अध्यक्ष प्रवीण रेग्मी सञ्चालक समिति सदस्यमा चयन भएपछि खड्काले नेतृत्व सम्हालेका हुन्। रेग्मी हाल आईएमई खल्ती लिमिटेडको सञ्चालक समितिमा आबद्ध छन्।
खड्का डिजिटल भुक्तानी क्षेत्रका अनुभवी व्यवसायी हुन्। उनी यसअघि तत्कालीन खल्ती डिजिटल वालेटका सिइओ थिए। आईएमई पे र खल्तीबिच मर्जर सम्पन्न भएपछि खड्का पुनः आईएमई खल्ती लिमिटेडको सिइओ बनेका थिए।
संस्थाको प्रारम्भिक नेतृत्व तहमै खड्का संस्थापक उपाध्यक्षको भूमिकामा थिए। अब भने उनले एसोसिएसनको पूर्ण नेतृत्व सम्हाल्दै नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
पीएसपी एसोसिएसनले नेपालमा सुरक्षित, सरल र सुलभ डिजिटल भुक्तानी प्रणाली विकास गर्ने उद्देश्य राखेको छ। नयाँ नेतृत्वसहित एसोसिएसनले डिजिटल अर्थतन्त्र विस्तारमा अझ प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया