उद्योग प्रवर्द्धनमा सिएनआईको १९ बुँदे नयाँ अभियान : उद्यमशीलता, स्वदेशी उत्पादन र निजी क्षेत्र सशक्तीकरण

सोमबार, १२ साउन २०८२

काठमाडौँ : नेपाल उद्योग परिसंघ (सिएनआई)ले उद्योग क्षेत्रको समग्र विकास, उद्यमशीलता प्रवर्द्धन र स्वदेशी उत्पादनको प्रवाहलाई तीव्र बनाउन १९ वटा नयाँ समिति, काउन्सिल र फोरम गठन गर्दै ‘नयाँ अभियान’ थालेको छ।

सिएनआईले नीति निर्माणमा निजी क्षेत्रको प्रभावकारी भूमिका सुनिश्चित गर्दै समृद्ध अर्थतन्त्र निर्माणमा टेवा दिने उद्देश्यसहित यो अभियान अघि बढाएको हो।

आइतबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवगठित संरचनाका सभापति तथा उपसभापतिलाई मनोनयन पत्र प्रदान गर्दै उद्योग प्रवर्द्धन र उद्यमशीलता विस्तारको जिम्मेवारी हस्तान्तरण गरेका छन।

उनले सिएनआईको यो संरचनात्मक विस्तारले सरकार र नियामक निकायहरूसँग प्रभावकारी समन्वय गर्दै रोजगारी सिर्जना, लगानी प्रवाह र नवप्रवर्तनमा योगदान दिने विश्वास व्यक्त गरे।

नयाँ समितिमा उद्योग समिति सभापतिमा राहुल अग्रवाल, राजस्वमा गोपाल अग्रवाल, कृषि तथा म्यापमा हितेश गोल्छा चयन भएका छन्।

‘मेक इन नेपाल स्वदेशी अभियान’मा प्राशी अग्रवाल सभापति र विदुषी राणा उपसभापति छन्। विशेष गरी महिला नेतृत्व फोरममा विदुषी राणा र आश्रयता कार्की तथा स्टार्टअप तथा युवा उद्यमी मञ्चमा अनुराग गोयल र आशिष अग्रवालले नेतृत्व सम्हाल्नेछन्।

सिएनआईले पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, सीप विकासदेखि महिला तथा युवा उद्यमशीलता, रोजगारी, नवप्रवर्तन र नीति सुधारसम्मका विषय समेट्दै व्यापक प्रतिनिधित्व सुनिश्चित गरेको छ।

अध्यक्ष पाण्डेले ‘आगामी दुई वर्षमा निजी क्षेत्रको आवाज नीति निर्माणमा बुलन्द बनाउने’ सिएनआईको रणनीति रहेको बताउँदै, अबका सबै समिति उद्योग क्षेत्रको समस्या समाधान, सीप विकास र स्वदेशी उत्पादन प्रवर्द्धनमा केन्द्रित हुने जानकारी दिए ।

उनका अनुसार  ‘उद्यमशीलता र स्वदेशी उत्पादनको बलियो अभियानमार्फत समृद्ध नेपाल निर्माण’ सिएनआईको दीर्घकालीन लक्ष्य हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार