काठमाडौँ : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुने २.९ मेगावाट क्षमताको माथिल्लो सारी खोला जलविद्युत आयोजनामा एनएमबि बैङ्क र मन्दाकिनी हाइड्रोपावरबिच ऋण लगानी सम्बन्धी वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
उक्त आयोजनामा एनएमबि बैङ्कको एकल ऋण लगानी रहनेछ । आयोजनाको अनुमानित लागत रु. ६६ करोड ९६ लाख १२ हजार रहेको छ भने यसमध्ये रु. ४६ करोड ३३ लाख ३३ हजार बैङ्कले ऋण लगानी गर्नेछ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजनालाई निर्धारित लागत र समयसीमामा सम्पन्न गर्न आग्रह गर्दै, स्थानीय सरकारसँग सहकार्य गरी आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि मन्दाकिनी हाइड्रोपावरले प्रवर्द्धन गरेको कास्कीकै माछापुच्छ्रे गाउँपालिकामा रहेको ४ मेगावाट क्षमताको सारी खोला जलविद्युत आयोजना वि.सं. २०७४ साल मङ्सिर २३ गतेदेखि व्यावसायिक उत्पादनमा रहेको छ ।
उक्त आयोजनामा पनि एनएमबि बैङ्कको नेतृत्वमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भएको जानकारी दिइएको छ ।
प्रतिक्रिया