‘विद्या भण्डारी राष्ट्रको गहना, राजनीतिमा फर्कनु हुँदैन’ : ओली

मंगलबार, १३ साउन २०८२
तस्बिर : फाइल

काठमाडौँ : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन नहुने स्पष्ट सन्देश दिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको १२औँ अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै भण्डारीलाई सम्मानपूर्वक राजनीतिबाट टाढा बस्न आग्रह गरेका हुन्।

ओलीले साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरूको व्याख्या गर्दै भनेका छन्, “पूर्वराष्ट्रपति भण्डारी राष्ट्रकै गहना हुनुहुन्छ। उहाँ एमालेको पनि गहना हो। सिङ्गो राष्ट्रको नेतालाई पुनः कार्यकर्ताका रूपमा ल्याउनु नहुने हाम्रो ठोस धारणा हो।”

एमालेले भण्डारीको राजनीतिक पुनरागमनले विगतमा राष्ट्रपतिको हैसियतमा गरेको निर्णयलाई विवादमा पार्न सक्ने भन्दै संविधानको मर्म अनुसार दलीय राजनीतिबाट टाढै रहन सुझाव दिएको छ।

अपानि मार्फत अध्यक्ष ओलीले जोड दिएका छन्, “उहाँले गरिमामय भूमिकामा रहँदा गरेका कामहरू विवादमा नपरोस् भनेर अब सम्मानित जीवन बिताउनु पर्छ। सदस्यता नवीकरण पनि संविधान र पार्टी विधानको मर्मअनुसार नहुने स्पष्ट छ।”

एमालेले भण्डारीलाई समावेशिताको ‘आइकन’ र राष्ट्रकै गौरवको रूपमा व्याख्या गर्दै, “गणतन्त्रका पहिलो राष्ट्रपतिले निर्वाह गरेको संवैधानिक गरिमाको अनुसरण गर्नुपर्ने बेला आएको” बताएको छ।

एमालेको अपानि अनुसार, “संविधानले राष्ट्रपतिको पदबाट निवृत्त भइसकेका व्यक्तिलाई सक्रिय राजनीतिमा फर्कन अनुमति दिएको छैन। यस्तो अवस्थामा कार्यसम्पादनको निष्पक्षता र संवैधानिकतामा प्रश्न उठ्न सक्छ। लोकतान्त्रिक मूल्य र मान्यता जोगाउन यस्तो व्यवहार अनुचित हुनेछ।”

एमालेले पुनः स्पष्ट पारेको छ : “भण्डारीले राष्ट्रकै गौरवको रूपमा सम्मानपूर्वक बस्नुपर्छ, सक्रिय राजनीतिमा फर्कनुहुँदैन।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार