सिद्धार्थ बैङ्क कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण

मंगलबार, १३ साउन २०८२

काठमाडौँ : सिद्धार्थ बैङ्क लिमिटेड औपचारिक रूपमा कर्मचारी सञ्चय कोषमा आबद्ध भएको छ। हालै सम्पन्न सम्झौताअनुसार बैङ्कमा कार्यरत १ हजार ९५५ जना कर्मचारीको सञ्चय रकम नियमित रूपमा कोषमा जम्मा गरिने भएको हो।

बैङ्कले हालसम्म आफ्ना कर्मचारीको नाममा सञ्चित १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा कोषमा हस्तान्तरण गरिसकेको छ। अब उक्त रकम सञ्चय कोषमार्फत व्यवस्थापन हुनेछ, जसबाट कर्मचारीहरूले सामाजिक सुरक्षा र विभिन्न सापटी सुविधाहरू पाउनेछन्।

सम्झौतापत्रमा कोषका सञ्चयकर्ता सेवा विभाग प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका छन्।

अबदेखि बैंकका कर्मचारीहरूले कोषमार्फत घर निर्माण, शैक्षिक खर्च, मर्मत, जग्गा खरिद लगायतका सापटी सुविधा पाउन सक्नेछन्। साथै, सामान्य उपचारमा १ लाख रुपैयाँ, कडा रोग उपचारमा १० लाख रुपैयाँ, दुर्घटना क्षतिपूर्तिमा २ लाख, काजक्रिया अनुदानमा ४० हजार र प्रसूति सुविधामा दुई पटकसम्म ७,५०० रुपैयाँ अतिरिक्त खर्चबिना पाउने व्यवस्था छ।

हालसम्म देशभर ५९१ बैङ्क तथा वित्तीय संस्था, ८१ हजार ६५० कार्यालय र ५ लाख ७९ हजारभन्दा बढी सञ्चयकर्ता कोषमा आबद्ध छन्। त्यस्तै, ९५ हजारभन्दा बढी योगदानकर्ताको निवृत्तिभरण कोष पनि सञ्चय कोषमार्फत व्यवस्थापन भइरहेको छ।

आर्थिक ऐन २०८२ अनुसार अब आन्तरिक राजस्व विभागबाट स्वीकृत अवकाश कोषहरू अनिवार्य रूपमा कर्मचारी सञ्चय कोष वा यस्तै प्रकृतिका निकायमा आबद्ध हुनुपर्ने कानुनी व्यवस्था लागू भएसँगै बैङ्क तथा वित्तीय संस्थाहरू कोषमा आबद्ध हुने क्रम तीव्र भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार