काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विभिन्न विपक्षी दलहरूले निर्वाचन आयोगद्वारा प्रस्तावित ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधान, ऐन र लोकतान्त्रिक अभ्यासविपरीत रहेको ठहर गरेका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज बसेको विपक्षी दलहरूको बैठकले उक्त कार्यविधिलाई राजनीतिक दलहरूमाथि नियन्त्रण गर्ने उद्देश्यसहित ल्याइएको भन्दै विरोध जनाएको हो।
बैठकमा अध्यक्ष दाहालले कार्यविधि संविधान, दलसम्बन्धी ऐन तथा लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेकाले सम्पूर्ण राजनीतिक दलहरू मिलेर साझा धारणा बनाउनु आवश्यक रहेको बताए।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनका दलहरूले निर्वाचन आयोगलाई कार्यविधि ल्याउन दबाब दिएको जनाउँदै कार्यविधिका प्रावधानहरू साना दलमाथि अंकुश लगाउने नियतसहितको रहेको टिप्पणी गरे।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यविधिबाट गठन गरिने समिति, संयोजक र तिनका अधिकार संविधान र ऐनको मर्मविपरीत रहेको बताए। उनले कार्यविधिले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सँग मेल नखाने स्पष्ट गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै गल्तीपूर्ण भएको उल्लेख गर्दै आफूहरू त्यसको विरोधमा दृढ रहेको बताए। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले निर्वाचन आयोगले साना दलहरूको अभिलेख अद्यावधिक नगरेको उल्लेख गर्दै आयोग तिनलाई हटाउने रणनीतिमा लागेको आरोप लगाए।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कार्यविधि संविधान र कानुनविपरीत भएको भन्दै यसविरुद्ध सङ्घर्ष अपरिहार्य रहेको बताए।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ, लोसपाकी नेतृ रेखा यादव, नागरिक उन्मुक्ति पार्टीलगायत विभिन्न दलका नेताहरूले कार्यविधि लोकतन्त्र, संविधान र दलको स्वायत्तताविरुद्ध रहेको धारणा राखेका थिए।
प्रतिक्रिया