रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू कारागारमा रहेका बेला पुनः रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन्।
लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा थुनामुक्त गराउन माग गरेका हुन्। निवेदनमा उनले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको दाबी गर्दै, सामूहिक बिगोअनुसार आफ्नो भाग बराबरको रकम बैंकमा जमानत राख्न तयार रहेको उल्लेख गरेका छन्।
यसअघि जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, सो आदेश उच्च अदालत बुटवल इजलासले बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
रुपन्देहीको सो प्रकरणमा लामिछानेसँग १० करोड ९९ लाख रुपैयाँ बराबरको सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले भने आफूमाथि लागेको आरोप आधारहीन भएको र भाग बराबरको रकम बुझाएर कानुनी सुविधा अनुसार थुनामुक्त हुनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया