काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले रिक्त सहमहामन्त्री पदमा आफ्नो दाबी नरहेको प्रष्ट पारेकी छन्। केन्द्रीय समिति बैठकमा आफूले विधिसम्बन्धी प्रश्न मात्र उठाएको र प्रस्तावित व्यक्तिको विरोध नगरेको उनको भनाइ छ।
कार्कीका अनुसार सहमहामन्त्री नियुक्तिको प्रस्ताव बैठकको एजेन्डामा नरहेकाले आफूले अस्वीकार गरेकी हुन्। उनले विधिसम्मत रूपमा इच्छुक र योग्य महिलामध्येबाट थप गृहकार्य गरेर मात्र नियुक्ति गर्नुपर्ने सुझाव दिएकी छन्।
“केन्द्रीय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ, व्यक्तिको विरोध गरेको होइन। रिक्त सहमहामन्त्रीमा मेरो दाबी छैन,” उनले लेखेकी छन्।
उनका अनुसार छलफलपछि पार्टी सचिवालय र पदाधिकारीहरूले एजेन्डा फिर्ता गरी थप गृहकार्यसहित प्रस्तुत गर्ने निर्णय गरेका छन्। उनले रास्वपालाई आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी भएको भन्दै गलत व्याख्या नगर्न आग्रह गरेकी छन्।
कार्कीले पार्टीभित्रका पदाधिकारीहरू अधिवेशनमार्फत निर्वाचित हुनुपर्ने नीतिमा आफू अडिग रहेको बताउँदै, “कुनै पदमा दाबी गर्नुपरे म चुनावमार्फत नै आउनेछु,” भनेर स्पष्ट पारेकी छन्।
प्रतिक्रिया