उदयपुर : चौदण्डीगढी नगरपालिकाले दिगो विकास र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित नगर योजना आयोग गठन गरेको छ ।
साउन २९ गते बसेको नगर कार्यपालिका बैठकले आयोग गठन गर्ने निर्णय गर्दै उपाध्यक्षमा किशोर ताम्रकारलाई नियुक्त गरेको हो ।
मेयर कालुमान लामाका अनुसार नगरको समग्र विकासका लागि ठोस योजना तर्जुमा, नीति निर्माण, अनुगमन र मूल्याङ्कन गर्दै नगरसभा, कार्यपालिका र नगरपालिकालाई आवश्यक राय–सल्लाह दिन आयोग गठन गरिएको हो ।
“दिगो विकास र सहस्राब्दी विकास लक्ष्य हासिल गर्न आयोगले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ,” मेयर लामाले बताए ।
प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी आयोग गठन गरिएको स्पष्ट पारे ।
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमअनुसार नगरसभाले ‘नगर योजना आयोग गठन तथा सञ्चालन ऐन, २०८२’ पारित गरिसकेपछि आयोगको संरचना तयार भएको हो ।
आयोगमा नगरप्रमुख अध्यक्ष रहने व्यवस्था गरिएको छ भने उपाध्यक्षमा स्थानीय विज्ञलाई नियुक्त गर्न सक्ने प्रावधान छ । त्यस्तै, विषयगत समितिका संयोजकहरू मध्येबाट पाँच जना सदस्य र नगर योजना शाखाको प्रमुख सचिव रहने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया