हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि आमाबहिनीको इजरायली राष्ट्रपति समक्ष गुहार

आइतबार, ०१ भदौ २०८२

काठमाडौँ : इजरायलमा हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति आइज्याक हेर्जोगसँग आइतबार जेरुसेलममा भेट गरी पहल गर्न आग्रह गरेका छन् ।

नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी आमा पदमा र बहिनी पुष्पाले विपिन निर्दोष विद्यार्थी भएको भन्दै छोराको जीवन रक्षा र तत्काल रिहाइका लागि विशेष अपिल गरेका हुन् ।

राष्ट्रपति हेर्जोगले २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि विपिनलाई गाजाबाट बन्धक बनाइएको घटना आफूलाई नौलो नभएको उल्लेख गर्दै भने, “नेपाल इजरायलको असल मित्र हो, विपिन आफ्नै नागरिकझैँ लाग्छ । उनको रिहाइका लागि मेरो सरकार र म निरन्तर प्रयासरत छौँ ।”

उनले थप प्रभावकारी परिणामका लागि नेपाली पक्षले पनि सम्बन्धित अरब मुलुकहरूसँग वार्ता अघि बढाए सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैबिच, जोशी परिवारले इजरायली संसद् (केनेस्सेट) अध्यक्ष आमिर ओहानासँग पनि भेट गरेका छन् । अध्यक्ष ओहानाले विपिनबारे निरन्तर चासो रहेको भन्दै भने, “नेपाल–इजरायलको सम्बन्ध न्यानो र मित्रवत् छ, विपिनसहित सबै बन्धकहरूको रिहाइका लागि हामी सक्रिय छौँ ।”

उनले हालै जेनेभामा नेपालका समकक्षीसँगको भेटमा विपिनको विषयमा छलफल भएको र दुवै सरकार पक्षबाट अनवरत पहल भइरहेको जानकारी पनि दिए ।

नेपाली राजदूतावासका अनुसार विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले राजधानी जेरुसेलममा उच्च पदस्थ अधिकारीहरूसँग निरन्तर भेटघाट गर्दै बन्धक अवस्थामा रहेका विपिनको शीघ्र रिहाइका लागि अपिल गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार