विपिनको जीवनरक्षाका लागि आमा–बहिनीको इजरायली राष्ट्रपतिसँग गुहार : प्रधानमन्त्री भन्छन्- ‘सरकार हरसम्भव पहलमा छ’

सोमबार, ०२ भदौ २०८२

काठमाडौँ : दस महिनाभन्दा बढी समयदेखि प्यालेस्टाइनी लडाकु समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि परिवारजनले इजरायलको सर्वोच्च राजनीतिक नेतृत्वसँग मार्मिक अपिल गरेका छन् ।

कञ्चनपुर घर भएका विपिनकी आमा पद्मा र बहिनी पुष्पा जोशी हाल इजरायलमा रहेर राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानासँग प्रत्यक्ष भेटी छोराको जीवनरक्षाका लागि पहल गर्न आग्रह गरेका हुन् ।

बन्धक विपिनको खोजी र सुरक्षित उद्धारका लागि परिवारजन भावुक हुँदै ‘अन्ततः हाम्रो पुकार सुन्ने कोही छ कि?’ भन्दै इजरायली नेतासँग गुहार लगाइरहेका छन् ।

यसबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विपिनको परिवारलाई इजरायली उच्च नेतृत्वसँग भेट गराउन नेपाली दूतावासमार्फत समन्वय भएको जानकारी दिएका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत सरकार विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न हरसम्भव कूटनीतिक प्रयासमा रहेको जनाउँदै प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीका अनुसार परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद चलाइरहेको छ । उनले यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग समेत टेलिफोन वार्ता गरी विपिनको रिहाइमा सहयोग गर्न ध्यानाकर्षण गराइसकेको स्मरण गराए ।

१० महिनादेखि अज्ञात अवस्थामा विपिन

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २०८० भदौमा अध्ययनका लागि इजरायल पुगेका विपिन २०८० असोज २० (सन् २०२३ अक्टोबर ७) मा हमासको आक्रमणपछि अन्य इजरायली नागरिकसँगै अपहरणमा परेका थिए ।

त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् । गाजामा हमासकै नियन्त्रणमा रहेको अनुमान भए पनि उनको स्वास्थ्य र अवस्थाबारे हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

छोराको अवस्थाबारे यकिन खबर नपाएपछि आमा पद्मा र बहिनी पुष्पा साउन २६ गतेदेखि इजरायल पुगेका छन् । उनीहरूले त्यहाँका सरोकारवालासँग भेट्दै विपिनको शीघ्र उद्धारका लागि भावुक अपिल गरिरहेका छन् ।

सरकारले विपिनको सुरक्षालाई प्राथमिकतामा राख्दै बहुआयामिक कूटनीतिक पहल गरिरहेको बताएपनि १० महिनापछि पनि उनको अवस्थाबारे निश्चित जानकारी नआउनुले परिवार गहिरो पीडामा परेको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार