धरानका मेयरले मौखिक आदेशमै खाइदिए चालकको जागिर

शुक्रबार, ०८ बैशाख २०८०
  • मिडियामा बोल्न समेत निषेध

  • सवारी दुर्घटनाको झूटो विवरण पेस गरेर बिमा नवीकरण

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले मौखिक आदेशमा सवारी चालकलाई जागिरबाट निकालेका छन् । श्रमदानका लागि कोकाहा खोला जाँदा गाडी दुर्घटना भएपछि चालक तेजकुमार राईलाई निष्कासन गरिएको हो । चैत २३ गते कोकाहा जाने क्रममा सवारी दुर्घटना भएको थियो । चालक राईका अनुसार कोकाहा जाने क्रममा कसैले बाटोमा राखेको मोटरसाइकल सार्ने क्रममा गाडी दुर्घटनामा परेको थियो । ‘कसैले बाटामै मोटरसाइकल पार्किङ गरेर राखेको रहेछ, त्यो बाइक सार्नका लागि गाडीबाट निस्कँदा गाडी ब्याक सरेर दुर्घटना भयो’ उनले भने । मोटरसाइकलको ह्याण्डिल लक गरिएकाले सार्न समय लागेको र त्यसबीचमा कसैले गाडी चलाइदिएको उनको भनाइ छ । त्यसबेला गाडीको बिमा नवीकरण ‘फेल’ थियो । गाडी दुर्घटना भएपछि हतारहतार बिमा गरेर २७ गते मात्रै गाडी दुर्घटनामा परेको देखाइएको छ । चालक राई भन्छन् ‘बिमा रिन्यु थिएन, मलाई झुटो विवरण पेश गर्न लगाएर गाडीको बिमा गराइयो र २७ गते दुर्घटना भएको भन्न लगाइयो ।’ त्यसपछि वैशाख २ गते आफूलाई हाजिर हुन नदिइएको राई भनाइ छ । उनले भने ‘म हाजिर गर्न जादा मेयरसापको आदेश भन्दै हाजिर गर्न दिइएन, मेयरसापलाई सोध्न जाँदा तिमीसँग म केही बोल्दिन भन्दै नगर प्रहरी लगाएर कार्यकक्षबाट मलाई निकालियो ।’ यस विषयमा मेयर राईसँग प्रदेश खबरले प्रतिक्रिया लिन खोज्दा उनले ‘आफूलाई केही थाहा नभएको’ बताए । मेयरले सवारी दुर्घटनाबारे कोही कर्मचारीले मिडियामा बोले कारवाही गर्ने चेतावनी समेत दिएको सवारी चालक राईले बताए । उनले भने ‘हामीलाई मिडियामा बोले कारवाही गर्छु भन्नुभयो, कोही बोल्न सक्दैनन् । म पनि डरले बोलिन तर अहिले मलाई जागिरबाटै निकालिदिए अनि बोल्न बाध्य भएँ ।’ उनले आफू अन्यायमा परेको भन्दै न्याय पाउनुपर्ने बताएका छन् । ‘कोरोना कालमा मैले सयौंको लास बोकेर घाटसम्म पुर्याएँ । सयौँलाई अस्पतालसम्म पुर्याएँ । एकपटक अनजानमा सवारी दुर्घटना हुँदा मलाई सचेतसम्म नगराई सिधै जागिरबाट निकालियो’ उनले भने । खानेपानी व्यवस्थापन बोर्डका प्रशासन प्रमुख राम राईले मौखिक आदेश आएकोले सवारी चालकलाई हाजिर गर्न नदिइएको बताए । उनले भने ‘मलाई मौखिक आदेश मात्रै आएको छ, कतैबाट लिखित आदेश आएको छैन ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार