काठमाडौं : अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन् । तर रूस र युक्रेनबीच युद्धविराममा कुनै सहमति भएन ।
ट्रम्पले अहिले नै युद्धविराम सम्भव नभएको बताए । ट्रम्पले अमेरिका र युरोपेली देशहरूले युद्धविरामका लागि मिलेर काम गर्नेछन् भने । बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा छलफल भएको थियो ।
यसैबीच, रुसी राष्ट्रपतिको कार्यालय (क्रेमलिन)ले ट्रम्पले बैठक रोकेर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेको बताएको छ । यस क्रममा पुटिनले रुस र युक्रेनका प्रतिनिधिहरूबीचको प्रत्यक्ष वार्तालाई समर्थन गरे ।
जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्रम्पसँगको फोन वार्ताका क्रममा पुटिनले १५ दिन भित्र जेलेन्स्कीलाई भेट्न सहमति जनाएको बताएका छन् ।
जेलेन्स्कीले पनि पुटिनसँग भेटघाटको लागि तयार रहेको बताएका छन् । तर भेटघाट कहाँ हुने भन्ने कुरा तय भइसकेको छैन ।
बैठकपछि जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेनले युरोपेली पैसा प्रयोग गरेर ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने बताए ।
प्रतिक्रिया