काठमाडौँ : सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्ति तथा संस्थाको चरित्र हत्या गर्ने र घृणा फैलाउने गतिविधिमा संलग्न भएको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–३ का ३९ वर्षीय मङ्गल सिं प्रजा रहेका छन्। उनलाई काठमाडौँको शंखमूलबाट नियन्त्रणमा लिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए।
प्रजाले फेसबुक आइडीमार्फत विभिन्न व्यक्ति र संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितका सामग्री पोष्ट गर्ने गरेका थिए। उक्त सामग्रीले समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा प्रत्यक्ष असर पुर्याएको, साथै घृणा, द्वेष र चरित्र हत्या गर्ने खालको रहेको ब्युरोको भनाइ छ।
प्रारम्भिक प्राविधिक अनुसन्धानपछि मङ्गलवार पक्राउ परेका उनलाई विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रजालाई अदालतले थप अनुसन्धानका लागि २ दिनको म्याद थप गरेको साइबर ब्युरोले जनाएको छ।
'भ्रष्टाचारी नाइके' भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना गर्ने माओवादी कार्यकर्ता मंगलसिँहलाई पक्राउ गरिएको स्रोतले बताएको छ ।
प्रतिक्रिया