काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संस्थागत निर्णयविपरीत पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी राजनीतिमा जबरजस्त रूपमा स्थापित हुने अभियानमा जुटेकी छन् ।
थापागाउँ अब ‘गुटगाउँ’
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूलाई साथमा राखेर उनले आफू एमालेमै भएको पुनः दाबी गरेकी छन् ।
यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको घोषणा भण्डारीले गरेकी थिइन् । पार्टीको सङ्गठित सदस्यता नवीकरण गरिसकेर सक्रिय राजनीतिमा लागेपछि हालै बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता ‘होल्ड’ गर्दै राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको थियो ।
पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नमिल्ने निष्कर्षसहित भण्डारीलाई पार्टीले रोक्न खोजे पनि उनी थप सक्रिय हुन थालेकी छन् ।
लामो समयदेखि एमालेमा संस्थापनबाहेक कुनै गुट बन्न सकेको थिएन । तर, बिहीबारबाट भण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेताहरूले बानेश्वरबाट एमालेमा प्रस्ट दुई धार निर्माण भएको सङ्केतसमेत दिएका छन् ।
बिहीबार काठमाडौँको थापागाउँ, नयाँबानेश्वरमा मदन भण्डारीको ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै एमाले पूर्वउपाध्यक्ष भण्डारीले अब त्यही कार्यालयबाट पार्टी गुटको राजनीति सुरुवात गर्दै छिन् । भण्डारी समूहले यसलाई ‘मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनेको छ ।
समितिको संयोजक बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले नेता डोरमणि पौडेल छन् । जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता मदन भण्डारीका श्रीमती विद्या भण्डारी समितिकी संरक्षक हुन् ।
एमालेले भण्डारीको सदस्यता नवीकरण निष्क्रिय गर्दै उनलाई रोके पनि पार्टीकै नेताहरूले उनलाई साथ दिँदै आएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेल उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, स्थायी कमिटीका सदस्य कर्णबहादुर थापासहित एमाले नेता कार्यकर्ताको कार्यक्रममा सहभागिता थियो । कार्यालय उद्घाटनका लागि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता दिन खोजिए पनि उनले भेट्नै नचाहेको चर्चासमेत पार्टीभित्र भइरहेको छ ।
अहिले भाडामा लिइएको यही घरबाट मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएको बताइएको छ । मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् भने अहिले भण्डारीले सोही घरलाई भाडामा लिएर एमालेमा पुनः प्रभाव जमाउने प्रयास थालेकी छन् ।
मदन भण्डारीको जन्मजयन्तीका लागि सम्पर्क कार्यालय भनिए पनि संस्थापनप्रति असन्तुष्ट नेताहरूले कार्यालयलाई गुटको गतिविधिको केन्द्रका रूपमा प्रयोग गर्न थालेका छन् । कार्यालय उद्घाटनस्थलमा भेटिएका एक एमाले नेताले मुस्कुराउँदै भने, ‘अब यो क्षेत्र थापागाउँ होइन, गुटगाउँ बनिसक्यो ।’
कार्यालयको उद्घाटन गर्दै भण्डारीले आफूले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट सन्देश दिएकी छन् । उनले आफूलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने भन्दै आफूले एमालेबाटै राजनीति गर्ने पुनः दोहो¥याइन् ।
भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउँदै अब पार्टीको कामको मूल्याङ्कन हुनुपर्ने समेत बताइन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीप्रति इङ्गित गर्दै उनले पार्टीका विसङ्गतिलाई जोडदार रूपमा उठाउने र सरकारले सुशासन प्रवर्धन गर्न नसकेको कडा रूपमा टिप्पणीसमेत गरेकी छन् ।
उनले राजनीतिक दलभित्र विकृति र विसङ्गति फस्टाएको, दलहरू संस्थागत हिसाबले प्रणालीमा चल्न नसकेको, राज्यका संयन्त्रहरू प्रणालीमा चल्न नसकेको र सदन पनि निरीह थालोजस्तो देखिएको बताइन् ।
सो कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद (जबज)माथि आक्रमण गरेको दाबी गरेका छन् । पार्टीभित्र समानान्तर गतिविधि गर्न स्थापना गरिएको सम्पर्क कार्यालय उद्घाटनलाई सम्बोधन गर्दै पोखरेलले जबजको सान्दर्भिकता नसकिएको बताए ।
अध्यक्ष ओलीले पार्टीलाई जबजको मान्यताअनुसार अघि नबढाएको तर त्यसकै टोपी लगाएर हिँडिरहेको पोखरेलको दाबी थियो । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने पक्षमा उभिएका पोखरेलले जबजको टोपी लगाउनेहरूबाटै विचारमाथि आक्रमण भएको भन्दै आक्रोश पोखे ।
ओलीप्रति लक्षित गर्दै उनले भने, ‘कहिलेकाहीँ विचारकै टोपी लाउनेहरूले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन्, यो चिज बुझ्नुपर्ने आवश्यकता छ, त्यसकारणले टोपी लाएर प्रस्ट बोल्नेहरू मात्रै विचारका संवाहक हुन्छन् भन्ने ठान्ने भूल गर्नुहुँदैन, यस्तो अवस्थामा विचारको रक्षा गर्नुपर्ने जरुरी छ ।’
थापागाउँमा मात्रै राजनीतिक गुटका १० कार्यालय
बानेश्वरको थापागाउँ भनेर परिचय अब रहेन । थापागाउँले अहिले ‘गुटगाउँ’का रूपमा नयाँ परिचय बनाएको छ । ’थापागाउँमा विभिन्न गुटका कार्यालय र गतिविधि सञ्चालन हुँदै आएका छन् । पछिल्लो समय एमालेको औपचारिक गुटको कार्यालय स्थापनासँगै थापागाउँलाई राजनीतिक वृत्तमा गुटगाउँका रूपमा चर्चा गर्न थालिएको छ ।
थापागाउँमा मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय मात्रै छैन । याँ विभिन्न पार्टी गुट सञ्चालन गर्ने विभिन्न कार्यालयसमेत सञ्चालित छन् ।
नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समेत थापागाउँमा लामो समयदेखि सम्पर्क कार्यालय खोलेर गुटगत राजनीति गर्दै आएका छन् ।
एमालेबाटै विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)निकटको अखिल नेपाल महिला सङ्घ (समाजवादी)को समेत कार्यालय यहीँ छ । त्यसको ठिक अघि एकीकृत समाजवादीकी उपाध्यक्ष एवं अनेमसंघ (समाजवादी)की पूर्वअध्यक्ष जयन्ती राईको कार्यालय छ । त्यहाँबाट गुट राजनीति हुँदै आएको एकीकृत समाजवादीकै नेताहरूको दाबी छ ।
अनेमसंघ (समाजवादी)को कार्यालय पनि नियमित कार्यसहित एक गुटको अखडाका रूपमा छ । थापागाउँमै एकीकृत समाजवादीनिकटको युवा सङ्घ नेपालको कार्यालय छ ।
युवा सङ्घमा गुटकै गतिविधि सञ्चालन गर्दै अहिले त्यो युवा सङ्घ दुई वटा बनेको छ । एउटाको नेतृत्व रोशन थापाले र अर्को युवा सङ्घको नेतृत्व संजीप राईले गरिरहेका छन् । अहिले थापा नेतृत्वको युवा सङ्घको कार्यालय आलोकनगर पार्टी कार्यालय अगाडिको सुविधानगरमा सरेको छ ।
थापागाउँमै केही अघिसम्म एकीकृत समाजवादीनिकट प्रेस सङ्गठन नेपालको केन्द्रीय कार्यालय थियो । नेतृत्व निकटबाहेकका पदाधिकारी सो कार्यालयमा कहिल्यै पुगेनन् । अध्यक्ष, महासचिवसहितका नेता एमालेमा फर्किनुअघि गुटगत राजनीति तीव्र भइरहेको सो कार्यालय हाल अनामनगर सरेको छ ।
थापागाउँमै साहना प्रधान स्मृति प्रतिष्ठानको कार्यालय छ । जसको अध्यक्ष रामकुमारी झाँक्री हुन् । सो कार्यालयबाट हाल पार्टीभित्र नेतृत्वविरुद्ध गुटबन्दी हुने गरेको संस्थापन पक्षको आरोप छ ।
एकीकृत समाजवादीको अखिलमा दुई समानान्तर कमिटी छ । जसमध्ये एक समूहको गुटगत गतिविधिसमेत थापागाउँबाट हुँदै आएको छ ।
थापागाउँमै कांग्रेस र एकीकृत समाजवादीनिकटको मजदुर सङ्गठनको कार्यालयसमेत छ । जहाँबाट मजदुर नेताहरूले गुटको गतिविधि सञ्चालन गर्दै आएका छन् ।
केही समयअघिसम्म पूर्वउपप्रधानमन्त्री रहेका नेता राजेन्द्र महतो नेतृत्वको थापागाउँमै सम्पर्क कार्यालय थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का पूर्व नेता महतो अहिले आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी गठन गरेका छन् ।
सद्भावना पार्टी हुँदासम्म थापागाउँमा पार्टी कार्यालय र लोसपा हुँदा सम्पर्क कार्यालय सञ्चालन गरेका महतोले मुक्ति पार्टीको अध्यक्ष भएपछि शान्तिनगरमा कार्यालय सञ्चालन गरेका छन् ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया