तरहरा-सेउती सडक निर्माणमा ढिलाइ गर्ने कम्पनीको गाडी इटहरीका मेयरको नियन्त्रणमा

शुक्रबार, ०८ बैशाख २०८०
इटहरी । इटहरीका उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण प्रक्रियामा चरम ढिलासुस्ती गरेको भन्दै ठेकेदार कम्पनीको सवारीसाधन नियन्त्रणमा लिएका छन् । राष्ट्रिय गौरवको आयोजना रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक अन्तर्गत तरहरादेखि सेउतीसम्म निर्माण गर्ने जिम्मा पाएको हिम्दुङ ठोकर प्यासिफिक जेभीको पानी बोक्ने ट्याङ्कर नियन्त्रणमा लिएका हुन् । आज शुक्रबार स्थलगत अनुगमन गर्दा निर्माण कार्य नगरेको देखिएपछि सवारीसाधन नियन्त्रणमा लिएको नगर प्रमुख पौडेलले बताए । राष्ट्रिय गौरवको आयोजना तथा ठेकेदार कम्पनीको चरम ढिलासुस्तीका कारण सवारीसाधन नियन्त्रणमा लिन बाध्य भएको पौडेलले बताए । यसअघि पटकपटक ठेकेदार कम्पनी तथा आयोजना प्रमुखलाई ढिलासुस्ती नगर्न जानकारी गराउँदा पनि बेवास्ता भएपछि नगर प्रमुख स्थलगत अनुगमनमा गएका थिए । अन्य क्षेत्रमा कामले प्रगति गरेपनि त्यहाँको करिब पाँच किलोमिटर सडक नबन्दा इटहरी–धरान छोटो तथा लामो दूरीका सवारीसाधन, बिरामी बोकेका एम्बुलेन्सलाई कठिनाइ भइरहेको छ । ठेक्का पाएको कम्पनीले समयमा काम गर्न नसक्दा यात्रु तथा पैदलयात्री लामो समयदेखि धुलो खान बाध्य छन् । स्थानीयबासी पनि प्रभावित बन्दै आएका छन् । उक्त क्षेत्रको सडक निर्माण गर्ने जिम्मा पाएको कम्पनी प्रमुख र ६ लेन सडक आयोजना प्रमुख दानबहादुर शाक्यलाई ३ दिनभित्र उपमहानगरसँग छलफल गरेर सडक निर्माणको काम सक्ने गरी लिखित प्रतिबद्धता जनाउन मेयर पौडेलले आग्रह गरेका छन् । इटहरीदेखि दक्षिण तर्फको सडक विस्तार गर्न पनि उनले भनेका छन् । आयोजनामा देखिएको समस्याबारे नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग आयोजना कार्यालय र सरोकारवाला सबैलाई आग्रह गरेका छन् । ठेकेदारको लापरबाही तरहरादेखि सेउती खोलासम्म ५ किलोमिटर सडकको निर्माण जिम्मा प्यासिफिक जेभी कन्स्ट्रक्सनले ४१ करोडमा ठेक्का लिएर काम थालेको थियो । असार मसान्तसम्म काम सक्ने पहिलो सम्झौता भएपनि अहिले सम्म ४५ प्रतिशत मात्रै काम भएको छ । ३५ प्रतिशत रकम भुक्तानी लिएको कम्मनीले लगातार काम गरेको भए गत असोजसम्म काम सकिने थियो । तर ठेकेदार कम्पनीका प्रतिनिधि कहिले बेपत्ता हुने, आयोजना कार्यालयको बेवास्ता गर्ने जस्ता कारण सोचे अनुसार काम नभएको हो । तरहरादेखि सेउती र सेउतीदेखि तीनकुने सम्म एकै पटक २०७७ असारमा ठेक्का लागेका हुन् । सेउती तीनकुने ठेक्का पाएको कम्पनीले काम सम्पन्न गर्नै लाग्दा पनि तरहरा–सेउती ठेक्का पाएको प्यासिफिक जेभीले चरम ढिलासुस्ती गर्दै आएको छ । ६ लेन सडक आयोजनाका इन्जिनियर प्रियंका झा आगामी असार सम्ममा काम सक्नेमा शंका बढेको बताउँछिन् । उनले अहिलेसम्म ४५ प्रतिशत प्रगति गरेको कम्पनीले १०० प्रतिशत पूरा गर्ला भन्न नसकिने उनले बताइन् । नियमित काम हुने हो भने ३ महिना भित्र सम्पन्न गर्न सकिने उनको भनाइ छ । ठेकेदार कम्पनीसँग हाम्रो छलफल भइरहेको छ’ उनले भनिन् ‘देखिएको समस्याबारे हामी चाँडै समाधानमा लाग्नेछौं ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार