काठमाडौं : नेपालको आर्थिक क्षेत्र सुस्त भएसँगै बिमा शुल्क तिर्न सकस हुँदै जान थालेपछि बिमा समर्पण गर्नेहरूको संख्या बढ्न थालेको छ ।
आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्ममा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको बिमा पोलिसी ‘सरेन्डर’ भएकामा गत आव २०८१–८२ मा १२ प्रतिशतले बिमा सरेन्डर रकम बढेको छ । चालू आव २०८१–८२ को असार मसान्तसम्ममा १५ अर्ब १५ करोड २१ लाख रुपैयाँबराबरको बिमा समर्पण भएको छ ।
बिमा प्राधिकरणका अनुसार गत आव २०८१–८२ मा १ लाख ८ हजार २ सय ३८ वटा जीवन बिमालेख समर्पण भएका थिए । सोभन्दा अघिल्लो आवमा १ लाख ११ हजार ३ सय ३६ पुगेको थियो । आव २०७९–८० मा भने जम्मा ९६ हजार ९ सय ३८ वटा पोलिसी सरेन्डर भएको थियो ।
यसैगरी, बिमा व्यतित हुनेहरूको संख्या पनि बढ्न थालेको छ । बिमा कम्पनीहरूमा बिमा गराएपछि बिमितहरूले निश्चित समयावधिभित्र बिमालेख नवीकरण गराउनुपर्छ ।
यदि, बिमा पोलिसी खरिद गरिसकेपश्चात पनि तोकिएको समयावधिमा बिमितले आफ्नो बिमालेख नवीकरण नगराएको खण्डमा व्यतित हुन्छ । व्यतित हुन नदिन नवीकरणको समय दिइन्छ । सो अवधिभित्र पनि नवीकरण नगरेमा बिमालेख निष्क्रिय हुन्छ ।
अर्थात्, सो बिमालेखले बिमितको कुनै पनि जोखिम सुरक्षण गर्दैन । जसलाई बिमालेख व्यतित भनिन्छ । बिमकले बिमा शुल्क पाउँदैन भने बिमितले कम्पनीले दिने सुविधा पाउँदैनन् ।
बिमा प्राधिकरणको तथ्यांकअनुसार आव २०८१–८२ मा १२ लाख ४३ हजार ३ सय ६५ वटा बिमालेखा व्यतित भएका छन् । अघिल्लो आव २०८०–८१ मा ११ लाख ५८ हजार ३ सयवटा मात्र बिमा व्यतित भएका थिए । अहिले बिमा व्यतितको संख्या ७ दशमलव ३४ प्रतिशतले बढेको छ ।
व्यतित बिमालेखको रकम ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँबराबरको रहेको छ । अघिल्लो आव २०८०–८१ मा ३४ अर्ब ३ करोड ७१ लाख रुपैयाँको बिमा रकम व्यतित भएको थियो । अहिले भएको व्यतितको दर अघिल्लो आवको तुलनामा २ दशमलव ८८ प्रतिशतले बढी हो ।
प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै पोलिसी सरेन्डर भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको पनि बिमा सरेन्डर बढी रहेको छ । लाइफ इन्स्योरेस कर्पोरेसन नेपालको पनि बिमा सरेन्डर दर बढी रहेको छ ।
हालको निर्देशिकाअनुसार बिमितले ३ वर्षसम्म पोलिसी सरेन्डर गर्न पाउँदैनन् ।
बिमा सरेन्डरको निष्कर्षमा पुग्नु भनेको आर्थिक संकट चुलिनु र बिमाप्रतिको विश्वास घट्नु हो । बिमितहरू बाँकी प्रिमियम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । त्यस्तो अवस्थामा पुग्नु भनेको आर्थिक मन्दी तल्लो तहसम्मै पुग्यो भन्ने पनि हो ।
समर्पण गर्न नमिल्ने खालका वैदेशिक रोजगार म्यादी जीवन बिमालेख, एकल बिमाशुल्क बिमालेख, म्यादी जीवनबिमा, लघु जीवनबिमा भने पोलिसी सरेन्डर गर्न पाउँदैन ।
यसरी बिमा पोलिसी एकपछि अर्को सरेन्डर हुँदै जानुमा अस्वस्थ प्रतिस्पर्धा मुख्य कारण देखिएको छ । खासगरी नयाँ बिमा कम्पनीहरू सञ्चालनमा आएपछि बिमा क्षेत्रका अभिकर्ताबीच बढेको प्रतिस्पर्धा अहिलेको पोलिसी सरेन्डरको मुख्य कारण रहेको छ ।
नयाँ बिमा कम्पनी खुलेपछि अभिकर्ता एउटा बिमा कम्पनीबाट अर्कोमा सिफ्ट हुँदा आफैंले गराएको बिमालेख पनि नराम्रो भनेर नयाँ कम्पनीमा बिमा गर्न लगाउने अवस्था भएकाले पनि सरेन्डरको संख्या बढेका हुन् । पुराना कम्पनीमा भइरहेको सरेन्डर वृद्धिले यो अवस्था देखिएको सरोकारवालाको भनाइ छ ।
पछिल्लो समय केही पुराना कम्पनीहरूको बोनस दर घटेको छ । बोनस घट्दैजाँदा यसको प्रभावसमेत परेको अवस्था देखिन्छ । समकालीन कम्पनीमध्ये केही कम्पनीको सरेन्डर अत्यधिक धेरै हुनु र केहीको कम हुनुमा यो कारण रहेको उनीहरूको बुझाइ छ ।
बिमा कम्पनीदेखि अभिकर्ताको बदमासी र नियामक निकाय नेपाल बिमा प्राधिकरणसमेत उदासीनताका कारण बिमा सरेन्डरमा अहिलेको अवस्था देखिएको बताइएको छ ।
बिमा कम्पनीले जनता झुक्याउनेगरी पोलिसी ल्याउने, अभिकर्ताले बिमितको आवश्यकता र क्षमताका आधारमा नभएर आफ्नै स्वार्थ हेरेर बिमा गर्ने र नियामकले पनि जथाभावी बिमा पोलिसी स्वीकृत गर्ने गरेकाले अहिलेको समस्या देखिएको बिमा पीडितहरू बताउँछन् ।
पोलिसी स्वीकृतिमा कडाइ र धेरै सरेन्डर हुने अभिकर्तामाथि प्राधिकरणले प्रस्टीकरण सोध्ने हो भने यो समस्या कम हुने बिमा कम्पनीहरूको भनाइ छ ।
बिमा गराउँदा अभिकर्ताले पहिलो र दोस्रो वर्षको बिमा प्रिमियमको २५–२५ प्रतिशत कमिसन पाउने गरेका छन् । त्यसपछि भने कमिसन घट्छ । बिमितको क्षमताभन्दा धेरै प्रिमियम तिरेर बिमा गराइदिने तर बिमितले प्रिमियम नियमित गर्न नसकेर सरेन्डरमा गएको उदाहरण बढी देखिएको पाइन्छ ।
जीवन बिमा योजना (म्यादीलगायतका जोखिम मात्र बहन गर्ने बिमालेख बाहेक)हरूमा बिमालेख समर्पण गर्ने सुविधा हुन्छ ।
बिमितले कारणवश बिमा चालू राख्न नचाहेको खण्डमा बिमालेख समर्पण गरेर समर्पणमूल्य प्राप्त गर्न सक्छ । विशेषगरी जीवन बिमालेखहरू तीन किस्ता बिमाशुल्क भुक्तानी गरिसकेपछि र बिमा सुरु भएको ३ वर्ष पूरा भइसकेपछि (अर्थात् तेस्रो किस्ता तिरेको १ वर्षपछि) समपर्ण गर्न पाइन्छ ।
बिमा सरेन्डर भन्नाले बिमा योजना समयअगावै सम्झौता तोड्ने वा रद्द गर्ने प्रक्रिया हो । हाल नेपालमा बिमा सरेन्डरको दर बढ्दै गएको छ, जसका पछाडि विभिन्न आर्थिक, सामाजिक तथा नीतिगत कारण रहेका छन् ।
बिमा खरिद गर्दा जस्तो जोखिम अनुभव भएको थियो, त्यो परिस्थिति परिवर्तन भई बिमा आवश्यक नभएमा मानिसहरूले सरेन्डर गर्छन् ।
कोही व्यक्तिले १५–२० वर्षका लागि बिमा योजना लिएको छ तर पछि मासिक खर्च बढ्दै गयो भने उसले बिमा प्रिमियम तिर्न गाह्रो महसुस गरेर योजना सरेन्डर गर्न सक्छ ।
प्रतिक्रिया