काठमाडौँ : अघिल्ला वर्षको तुलनामा आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदरमा प्रगति भएको देखिएको छ । मुद्रास्फीति नियन्त्रण, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा सकारात्मक वृद्धिका कारण आर्थिक वृद्धिदरमा प्रगति देखिएको हो ।
सरकारी खाता भने घाटामा
वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा वृद्धि भएका कारण देशको आर्थिक स्थिति बलियो देखिएको हो । यसले शोधनान्तर स्थिति बचतमा देखिएको राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको आर्थिक तथ्याङ्क प्रतिवेदनमा उल्लेख छ ।
सरकारी खर्च र राजस्व परिचालनको स्थिति र बढ्दो सार्वजनिक ऋणका चुनौतीहरू भने यथावत् नै रहेको प्रतिवेदनमा उल्लेख छ । मौद्रिक क्षेत्रमा निक्षेप सङ्कलन बढेको र निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा वृद्धि देखिए पनि बैङ्कको ब्याजदरमा केही कमी आएको प्रतिवेदनले औँल्याएको छ । पुँजीबारे सूचकाङ्कमा भने वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आव २०८१–८२ मा आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ६७ प्रतिशत थियो ।
वार्षिक औसत मुद्रास्फीति अर्थात् मूल्य वृद्धि ४ दशमलव शून्य ६ प्रतिशत छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत पुगेको थियो ।
शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा थियो । नेपालबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि शोधनान्तर बचतमा हुने गर्छ ।
सरकार ४ खर्ब घाटामा
आर्थिक वर्ष २०८१–८२ मा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ४ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ३ खर्ब ७९ अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो ।
आव २०८१–८२ मा तीनै तहका सरकारको एकीकृत वित्त स्थिति भने १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँले बचतमा छ । सङ्घीय सरकारले विभिन्न बजेट शीर्षकमा प्रदेश सरकार र स्थानीय तहलाई दिएको रकम खर्च नगर्दा सवा खर्ब रुपैयाँ थन्किएको हो । यसले तीन वटै सरकारको खर्च गर्ने क्षमता कमजोर रहेको देखाउँछ ।
२०८२ असार मसान्तमा नेपाल राष्ट्र बैङ्कमा रहेका सरकारका विभिन्न खातामा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत गरेर १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ नगद मौज्दात रहेको हो । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ मात्र रहेको थियो ।
आव २०८१–८२ मा नेपाल सरकारको वित्तीय स्थिति घाटामा रहेका कारण ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण लिएको छ । यसैगरी, सरकारले १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ बाह्य ऋण उठाएको छ । वित्तीय स्थिति घाटामा रहेपछि लिएको ऋण खर्च नगर्दा सरकारले बिनासित्ति ब्याज मात्र तिर्नुपरेको छ । सरकारले गत आवमा २ खर्ब ४३ अर्ब ९१ करोड रुपैयाँ सावाँ–ब्याज भुक्तानी गरेको छ ।
२०८२ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
विदेश जाने विद्यार्थीले लगे १ खर्ब ३८ अर्ब
आर्थिक वर्ष २०८१–८२ मा विदेशी पर्यटकले नेपाल आएर खर्च गर्नेभन्दा बढी रकम लिएर नेपाली पर्यटक विदेश जाँदा खुद सेवा आय घाटामा गएको छ । आव २०८१–८२ मा विदेश पढ्न जाने नेपाली विद्यार्थीले मात्रै १ खर्ब ३८ अर्ब रुपैयाँ लगेका छन् ।
राष्ट्र बैंकका अनुसार खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा वर्षमा विदेशी पर्यटकबाट भ्रमण आय ७ दशमलव ७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । यससँगै नेपाली पर्यटकले विदेश जाँदा अघिल्लो वर्षको तुलनामा १८ दशमलव १ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
यसमध्ये विदेशमा पढ्न जाने विद्यार्थीले औपचारिक रूपमा १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ लगेकाले खुद भ्रमण खर्च घाटामा गएको हो । अघिल्लो वर्ष नेपालबाट विदेश जाने नेपालीले भ्रमण खर्चका रूपमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ लगेका थिए । जसमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।
सरकारको आम्दानीभन्दा राजस्व बढी
सरकारी वित्तीय खाता घाटामा र राजस्व कमजोर स्थिति भइरहेका बेला मुलुकको समग्र आर्थिक गतिविधिलाई रेमिट्यान्सले भने टेवा दिएको छ । सरकारले गत आवमा जम्माजम्मी ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ कमाउँदा जनताले रेमिट्यान्सबाट १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ नेपाल भिœयाएका छन् ।
आव २०८१–८२ मा रेमिट्यान्स आप्रवाह १९ दशमलव २ प्रतिशतले बढेको हो । २०८२ असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव ३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको थियो ।
जीडीपीमा कृषिको योगदान बढ्यो
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत रहँदा कृषि क्षेत्रको वृद्धि ३ दशमलव २८ प्रतिशत, उद्योग क्षेत्रको ४ दशमलव ५३ प्रतिशत र सेवा क्षेत्रको वृद्धि ४ दशमलव २१ प्रतिशत रहेको छ ।
आव २०८१–८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६ प्रतिशत, १२ दशमलव ८३ प्रतिशत र ६२ दशमलव शून्य १ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान २५ दशमलव १६ प्रतिशत रहेको छ । यस्तो योगदान आव २०८०–८१ मा २४ दशमलव ७१ प्रतिशत मात्र थियो ।
यसैगरी, आव २०७९–८० मा २४ दशमलव शून्य ३ प्रतिशत कृषिको योगदान रहेको थियो । कृषिमा आर्थिक वृद्धिदर आव २०८१–८२ मा ४ दशमलव ६१ प्रतिशत रहेको छ । आव २०८०–८१ मा भने कृषिको वृद्धिदर ३ दशमलव ६७ प्रतिशत थियो । आव २०७९–८० मा १ दशमलव ९८ प्रतिशत रहेको थियो ।
चालू खातामा ४ खर्ब ९ अर्ब बचत
आर्थिक वर्ष २०८१–८२ मा चालू खाता ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता २ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालू खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा छ ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव २ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ दशमलव ७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
आव २०८१–८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ दशमलव २ महिनाको वस्तु आयात र १५ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया