काठमाडौँ : नेकपा (एमाले)को आसन्न दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी निकट समूह र नेतृत्वबिच आन्तरिक खिचातानी तीव्र बनेको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताले भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न नमिल्ने भन्दै फरक मत पेस गर्ने तयारी गरेका छन् ।
उनीहरूले जनताको बहुदलीय जनवाद (जबज)को कार्यान्वयन, ७० वर्षे उमेरहद, एउटै पदमा दुई कार्यकालभन्दा बढी आउन नपाउने व्यवस्था जस्ता विषयमा छुट्टै प्रतिवेदन ल्याउने अडान राखेका छन् ।
भण्डारी समूहले विधान महाधिवेशनअघि केन्द्रीय कमिटीमै लिखित प्रतिवेदन पेस गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाएको छ । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले यसपटक अनिवार्य रूपमा लिखित प्रतिवेदन ल्याएर छलफल गर्नुपर्ने बताएका छन् ।
भण्डारीले गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् । त्यसपछि सदस्यता ‘होल्ड’ गर्ने निर्णयविरुद्ध उनका निकट नेताहरू विरोध गर्दै आएका छन् ।
यसैबिच एमालेले विधान महाधिवेशनको नारा ‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्पः समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरेको छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा महाधिवेशन हुँदैछ । सहभागी प्रतिनिधि सङ्ख्या २,३७९ रहने छ ।
महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताएका छन् ।
प्रतिनिधि व्यवस्थापन, हल व्यवस्थापन, खाद्य तथा स्वास्थ्य व्यवस्थापनदेखि स्वयंसेवक परिचालनसम्मका जिम्मेवारी तोकिएका छन् । पार्टीले प्रतिनिधिका लागि खानाको व्यवस्था गर्ने तर आवास आफ्नै खर्चमा मिलाउनुपर्ने व्यवस्था गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान मस्यौदा र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनलाई सुझाव सङ्कलन गरी अन्तिम रूप दिइने तयारी छ । स्थगित केन्द्रीय कमिटी बैठक प्रतिवेदन टुङ्ग्याएपछि फेरि बस्ने गरी तालिका मिलाइने भएको छ ।
प्रतिक्रिया