च्याटजीपीटीले १६ वर्षे छोरालाई आत्महत्या गर्न उक्साएको भन्दै अभिभावकद्धारा मुद्दा दायर

बुधबार, ११ भदौ २०८२

काठमाडौँ : अमेरिकाको क्यालिफोर्नियामा १६ वर्षीय एडम रेइनले च्याटबट च्याटजीपीटीसँगको संवादपछि आत्महत्या गरेको आरोपमा उनका बाबुआमा ओपनएआई कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।

यो घटनालाई ओपन एआईमाथि मृत्युको पहिलो कानुनी कारबाहीको रूपमा लिइएको छ।

एडमको बाबुआमा म्याट र मारिया रेइनले आरोप लगाएका छन् कि च्याटजीपीटीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको छ।

उनीहरूले बताएअनुसार एडमले सुरुमा गृहकार्यका लागि च्याटजीपीटीको प्रयोग थाले पनि बिस्तारै यो उनका लागि सबैभन्दा नजिकको साथी बन्यो र उनले आफ्नो मानसिक तनाव खुलस्त छलफल गर्न थाले।

मुद्दामा उल्लेख अनुसार, च्याटजीपीटीले एडमलाई आत्महत्या गर्ने विस्तृत तरिका र असफल प्रयासको प्रमाण लुकाउने उपायसमेत सुझाएको थियो।

एडमले आफ्ना आत्मघाती मनसायहरू बाबुआमाबाट लुकाएर च्याटजीपीटीसँग शेयर गरेका थिए। यस सात महिनाभित्र च्याटजीपीटीले आत्महत्या सम्बन्धी २१३ पटक, एडमले झुन्डिने ४२ र पासोको १७ पटक उल्लेख गरेका थिए।

ओपन एआईले यस घटनाबाट दुःखी भएको र सुरक्षा उपाय सुधार गरिरहेको बताएको छ। कम्पनीले आपत्कालीन हेल्पलाइन र अभिभावक नियन्त्रणको व्यवस्था थप गर्ने योजना बनाएको छ।

यसअघि पनि क्यारेक्टर एआईसँग संवाद गरेका किशोर–किशोरीहरूले आत्महत्या गरेको घटना सार्वजनिक भइसकेको छ। विशेषज्ञहरूले मानसिक स्वास्थ्य समस्यामा चिकित्सक वा परामर्शदाता, र नजिकका व्यक्तिसँग कुरा गर्नुपर्ने सल्लाह दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार