मुगु । बुधवार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ बर्षीया सुत्केरी सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।
बुधवार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछि उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसूति केन्द्रमा लगिएको थियो ।
अत्याधिक रक्तस्राव हुन थालेपछि थप उपचारका लागि प्रसूति केन्द्रले जिल्ला अस्पताल लैजान सल्लाह दिएपछि घर परिवारले राति १० बजे जिल्ला अस्पतालमा पुर्याएपनि उपचारका क्रममा बिहीबार ३ बजेतिर मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।
राति १० बजे अस्पतालमा पुगेका बुढालाई डाक्टरहरूले चेकजाँच गर्दा अत्याधिक रक्तस्रावका कारण शरीरमा जम्मा दुई प्वाइन्ट रगत मात्र देखिएको उपचारमा संलग्न डाक्टर नहकुल शाहीले जानकारी दिएका हुन ।
बुढालाई तत्काल रगत चढाउनुपर्ने थियो तर जिल्ला अस्पतालमा ब्लड बैङ्क छैन । ब्लड बैङ्कको व्यवस्था नहुँदा उपचारमा संलग्न डाक्टरहरूले आफ्नो फेसबुक मार्फत आवश्यक रगत दानका लागि सूचना जारी गरेपछि सदरमुकाम गमगढीका युवाहरूले पाँच वाईन्ट रगत दान गरेका थिए ।
मृतक बुढा एक बर्ष अगडि घरमै गर्भपतन गराएर अत्याधिक रक्तस्रावपछि जिल्ला अस्पतालमा उपचारका लागि आएकी थिइन । त्यस बेला पनि उपचारमा संलग्न डाक्टरहरूले उनको शरीरमा आवश्यक रगत चढाई उपचार गरेका थिए
उपचार गरेर घर फर्किन लाग्दा बुढालाई त्यस बेला जिल्ला अस्पतालका डाक्टरहरूले सल्लाह बिना औषधी सेवन नगर्न, नियमित चेकजाँच गर्न एवम् अस्पतालमै सुत्केरी गर्न सल्लाह दिएका थिए ।
सोरु गाउँपालिकामा सबै ठाउँमा प्रसूति केन्द्र छन् । तर घरमै सुत्केरी गराउने र अन्तिममा समस्या देखिएपछि स्वास्थ्य संस्थामा पुग्ने गरेका धेरै घटना छन् । जिल्ला अस्पतालमा प्राय यस्ता घटना सोरु गाउँपालिकाबाट धेरै आउने गरेको डाक्टर नहकुल शाहीले बताए ।
उपचारमा संलग्न डाक्टरहरूका अनुसार अस्पतालमा पुग्दासम्म सालनाल नझरेर अत्याधिक रक्तस्राव का कारण मृतक बुढा बेहोस थिइन् । आवश्यक रगतको व्यवस्था गरेर शरीरमा रगत चढाइसकेपछि बिहीबार बिहान होसमा आएको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले हेली कप्टरको व्यवस्थापनका लागि गृह मन्त्रालयसङ समन्वय गरिरहेकै बेला उनको ज्यान गएको जिल्ला अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।
डाक्टर नरकोटीका अनुसार बुधवार बिहान ११ बजे सुत्केरी भई सालनाल नझरेपछि उपचारका लागि घरपरिवारले राति १० बजे ल्याएका थिए । तर उनीबाट जन्मेको शिशुको अवस्था भने सामान्य रहेको र चिकित्सकहरूको निगरानीमा राखिएको छ ।
प्रतिक्रिया