‘सडकमै एसपी दीपक’: कोशीमा ट्राफिक अनुशासनको नयाँ अभियान

सोमबार, १० कार्तिक २०८२

मोरङ : सोमबार बिहान गछियाको सडकमा अनौठो दृश्य देखियो— कोशी प्रदेश राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरी आफैं सार्वजनिक बसमा चढेर निरीक्षण गरिरहेका थिए।

बसमा ‘वृद्ध–वृद्धा’ लेखिएको सिटमा एक युवा सहजसँग बसेको देख्नेबित्तिकै उनले सम्झाए, “सिटमा लेखिएको कुरा पढ्नुभयो? उठ्नुस्, वृद्धालाई बस्न दिनुस्।” युवाले मुस्कुराउँदै सिट खाली गरे, वृद्धा खुसी हुँदै बसिन्। त्यसपछि एसपी गिरीले चालक र सहचालकलाई चेतावनी दिए, “बसमा लेखिएको सन्देश पालना गर्नैपर्छ।”

इटहरीमा जिम्मेवारी सम्हालेको एक महिना मात्र भएको छ, तर गिरीले ‘कार्यालयभित्र होइन, सडकमै’ अभियान सुरु गरेका छन्।

जेनजी आन्दोलनपछि बढेको भीड र अव्यवस्थाले यात्रु सुरक्षामा चुनौती थपेपछि उनले आफैं फिल्डमा खटिन थालेका हुन्। “कार्यालयमा बसेर मात्र ट्राफिक सुधार हुँदैन,” उनले भने, “मैले सडकमा निस्कँदा मुनिका ट्राफिकहरू पनि सक्रिय भएका छन्।”

प्रत्येक बिहान गछियादेखि इटहरीसम्म उनी सवारी चेकजाँचमा आफैं खटिन्छन्। कोही हेल्मेट बिना बाइक चलाइरहेका हुन्छन्, कोही ठूलो साइलेन्सर लगाएर नियम उल्लङ्घन गर्दै। ती सवारीलाई उनले तुरुन्त रोकेर सम्झाउँछन्— जरिवाना मात्र होइन, सचेतना पनि दिन्छन्।

pradeskhabar.com - 2025-10-27T211209.472

इटहरीको मुख्य चोकमा रहेको ट्राफिक लाइट एक महिनादेखि बिग्रिएको छ। चारै दिशाबाट सवारी जाम हुने समस्यालाई प्राथमिकतामा राख्दै गिरीले सिग्नल मर्मत र प्रणाली अद्यावधिकको पहल थालेका छन्।

“इटहरीजस्ता सहरमा सडक शिष्टाचार र ट्राफिक अनुशासन दुवै अपरिहार्य छन्,” गिरी भन्छन्, “सवारी चालक र पैदल यात्रु दुवैले नियम बुझ्नुपर्छ।”

उनका अनुसार, ट्राफिक सुधारका लागि मोडिफाइड सवारीमाथि कडाइ, ट्राफिक लाइट मर्मत, सिग्नल सिस्टम अद्यावधिक, हेल्मेट र सीटबेल्ट अनिवार्य पालना, पैदल क्रसिङ र पार्किङ व्यवस्थापन, सार्वजनिक सवारीमा शिष्टाचार तथा सचेतना अभियान सुरु गरिएको छ।

गिरीले पदभार सम्हालेयता करिब दुई दर्जन मोडिफाइड बाइक चालकलाई कारबाही गरिसकेका छन्। ठूलो आवाज निकाल्ने, हेडलाइटमा एलईडी राख्ने वा नम्बर प्लेट परिमार्जन गर्ने सवारीमाथि ‘शून्य सहिष्णुता नीति’ लागू गरिएको छ। “जहाँबाट यस्तो बाइक भेटिन्छ, तत्काल नियन्त्रणमा लिइन्छ,” उनी भन्छन्।

उनले कोशी प्रदेशका अन्य ट्राफिक युनिटहरूलाई पनि सक्रिय बनाएका छन्। मातहतका अधिकृतहरूलाई नियमित चेकिङ र सचेतना अभियान चलाउन निर्देशन दिएका छन्।

“हामी सडकमा देखिन थालेपछि जनताले पनि सकारात्मक सन्देश पाएका छन्,” उनी भन्छन्, “अब ट्राफिक प्रहरी केवल रसिद काट्ने होइन, अनुशासन सिकाउने पनि हो।”

इटहरीका चालकहरू अहिले परिवर्तन महसुस गर्न थालेका छन्। स्थानीय बस चालक रवि मगर भन्छन्, “पहिले जस्तो अनियन्त्रित सवारी र मोडिफाइड बाइक थिए, अहिले केही नियन्त्रण आएको छ। एसपी आफैं सडकमा देख्दा सबैलाई अनुशासनमा बस्न मन लाग्छ।”

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार