खोटाङ, मोरङ र सुनसरीमा दुर्घटना, ३ जनाको मृत्यु

शनिबार, ०९ बैशाख २०८०
 विराटनगर । कोसी प्रदेशका खोटाङ, मोरङ र सुनसरी जिल्लामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । खोटाङको खोटेहाङ गाउँपालिका–४ कुलाभन्ज्याङस्थित सडकमा बसको ढोकाबाट शुक्रबार राति ९ः३० बजेतिर लडेर १ जनाको मृत्यु छ ।   कोसी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोका अनुसार दिक्तेलबाट खोटाङ बजारतर्फ जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट ओर्लने क्रममा लडेर जन्तेढुंगा गाउँपालिका–३ का ३८ वर्षीय दिनेश राईको मृत्यु भएको हो । अचानक लडेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा शनिबार बिहानका राति १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।   दुर्घटनालगत्तै बसका चालक हलेसीतुवाचुङ नगरपालिका–१ का अन्दाजी २३ वर्षीय मनोज कार्की फरार बनेका छन् । प्रहरीका अनुसार फरार रहेका चालकको खोजी तीव्र पारिएको छ । त्यस्तै, रंगेली–विराटनगर सडकखण्डअन्तर्गत मोरङको रंगेली नगरपालिका–७ बक्राहा खोलामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।   पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २३ प ७२४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर राति ९ बजेतिर दुर्घटनामा परेको एसपी महतोले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार रंगेली–८ दर्बेसाका अन्दाजी २७ वर्षीय रविन ऋषिदेवको मृत्यु भएको हो । गम्भीर अवस्थाका ऋषिदेवलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक रंगेली–६ का अन्दाजी ४० वर्षीय अजय मण्डल गम्भीर घाइते भएका छन् ।   रंगेली अस्पतालले रेफर गरेपछि उनलाई थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)लगायतका कागजात फेला नपरेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसैबीच, कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा मोटरसाइकल दुर्घटना हुँदा चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय हेमचन्द्र लिम्बूको मृत्यु भएको छ ।   दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १७ प ९०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो । गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा दिउँसो ४ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार साँगुरीगढी–३ का ३३ वर्षीय जितेन याख्खा घाइते भएका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार जारी छ । प्रहरीले मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको जनाएको छ । -फाईल तस्विर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार