सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार लागुऔषधसहित पक्राउ

बुधबार, १८ भदौ २०८२
PHOTO: AI

विराटनगर ।  देशको सीमा सुरक्षाको जिम्मा पाएका सशस्त्र प्रहरी नै लागुऔषध कारोबारमा संलग्न रहेको घटना बाहिर आएको छ । मोरङबाट सशस्त्र प्रहरीका १ जना हवल्दार पक्राउ परेका छन् । 

रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत ३६ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिष गिरी मंगलबार बेलुकी लागुऔषधसहित पक्राउ परेका हुन् । पर्साको वीरगञ्ज घर भएका गिरीले ओछ्यानको सिरानीमुनि प्लाष्टिकभित्र लुकाएर राखेको अवस्थामा ३० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । 

गिरीलाई सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको हो । उनीमाथि इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी चुँडालले दिइन् । 

लागुऔषधको समस्या नेपाल–भारत सीमावर्ती क्षेत्रमा वर्षौंदेखि चुनौती बनेको छ । त्यहाँमाथि लागुऔषधको धन्दामा सुरक्षा निकायकै व्यक्तिको संलग्नता देखिएपछि चुनौती थपिएको प्रहरीको बुझाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार