काठमाडौं : प्रतिनिधि सभाका सांसद सुहाङ नेम्बाङले सरकारले हतारमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नियम किन ल्यायो भन्दै प्रश्न गरेका छन् । सवारी चलाउने नागरिकमा एक पछि अर्को भार रहेको बताउँदै उनले जनशक्ति, पूर्वाधार र प्रविधिको विकास नगरी किन नियम मात्र थोपरिन्छ भन्दै प्रश्न गरे ।
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै नेम्बाङले भने, ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय उठाउन चाहन्छु । सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ । यसले जनतालाई सुविधा होइन थप सास्ती मात्र बढाएको छ ।’
सवारी साधान भएका नागरिकमा एकपछि अर्को भार रहेको बताउँदै उनले भने, ‘सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार छ । गाडी किन्ना साथ उच्च कर, हरेक वर्ष अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन र लाइसन्स बनाउन फारम परीक्षा र ट्रायलमा लामो लाइनको सामना गर्नु परेको छ ।’
उनले जनस्तरबाटै इम्बोस्ड नम्बर प्लेटका बारेमा प्रश्न उठेको दावी गर्दै भने, ‘यहाँ जनताको पक्षबाट प्रश्न उठेका छन् । इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामीसँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ?’
लाइसेन्स लिन वर्षौ कुर्नुपर्ने अवस्थामा पहिलेकै समस्या हल नगरी किन अर्को जबर्जस्त नियम लागू गर्न खोजेको भन्ने नेम्बाङको प्रश्न छ । उनले भने, ‘जब हजारौँ नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन् । कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिएको हो ? त्यो पनि नम्बर अंग्रेजी मै किन ?’
भाषा प्रतिको माया र भावनाको विषय जोड्दै इम्बोस्ड नम्बर प्लेटको निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् । ‘आम जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाइरहेका छन् । त्यसैले मेरो विनम्र आग्रह छ सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको सुनिश्चितता गरेपछिमात्र चरणबद्ध रुपमा अघि बढाइयोस्’, उनले भने ।
प्रतिक्रिया