काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकमा लगानीको वातावरण बनेको र विगतमा भन्दा धेरै सुधारका कामहरु अघि बढाइएको बताएका छन् ।
नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा बोल्दै मन्त्री खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको स्पष्ट गरे । उनले निजी क्षेत्रलाई साथमा लिएर मात्र मुलुकको आर्थिक विकास सम्भव हुने बताए ।
उनका अनुसार थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसदका दुई ठूला दल मिलेर वर्तमान सरकार गठन भएको हो । उनले राजनीतिक विचारधारा फरक भए पनि कांग्रेस र एमाले दुवै दल मुलुकको आर्थिक विकास र जनताको जीवनस्तर सुधारका साझा एजेन्डामा एकत्रित भएको बताए । स्थिर सरकार बनेको र काम गर्ने वातावरण सुनिश्चित भएकाले लगानीमा वृद्धि भएको उनको दाबी थियो ।
मन्त्री खड्काले कुनै उद्देश्य र योजना नभएका दलहरूले जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाउँदै वास्तविक तथ्य जनतासम्म पुर्याउने जिम्मा कांग्रेस पार्टीले लिएको बताए । उनले मुलुकमा आर्थिक सुधारका संकेत देखिएको उल्लेख गर्दै निजी क्षेत्र डराउनुपर्ने अवस्था नरहेको दोहोर्याए ।
उर्जामन्त्री खड्काले आफ्नो कार्यकालमा उर्जा विकास मार्गचित्र, २०८१ जारी गरी सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिए । सोमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक खपतका लागि र बाँकी १५ हजार मेगावाट भारत, बंगलादेशलगायत छिमेकी मुलुकमा निर्यात गर्ने योजना रहेको उनले बताए । उक्त लक्ष्य पुरा गर्न करिब ६४ खर्ब रुपैयाँ आवश्यक पर्ने उनको भनाइ थियो ।
उनले विगत दुई दशकदेखि चर्चा मात्र भए पनि आफ्नो कार्यकालमा पहिलो पटक बङ्गलादेशमा विद्युत निर्यात गर्ने कार्य सम्पन्न भएको बताए । हाल भारतमा मात्र करिब १२ सय मेगावाट विद्युत निर्यात भइरहेको र त्यसवापत सरकारले १७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिए ।
विद्युत उत्पादन बढेसँगै संरचनागत चुनौतीका कारण केही स्थानमा ट्रान्सफर्मर मर्मत पुनर्निर्माणको क्रममा बत्ती जाने गरे पनि अब लोडसेडिङ नहुने उनले स्पष्ट पारे । साथै, मधेशमा कृषिको विद्युतीकरणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै उनले देश आर्थिक हिसाबले क्रमशः उकासिँदै गएको बताए ।
प्रतिक्रिया