जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह

बुधबार, १८ भदौ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुँदा पनि सरकारको ध्यान नगएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न सांसदबाट अपिल गरेका छन् ।

उनले भने, ‘जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द छ । सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले कोदोमा कुटो हाने जसरी त्यो सडक हानेको छ । त्यो सडक खोल्न गाह्रो भएको छ, बल्ल बल्ल खोलिएको थियो फेरि राती पहिरो आयो, त्यस कारण एउटा मात्र बाटो खुलाउने उपकरण होइन कि सडक डिभिजन कार्यालय सुर्खेत, जुम्लालाई त्यहाँ अहिले यो स्याउ आउने सिजनमा सडक खुलाउने उपकरण राख्न सांसदबाट अपिल गर्न चाहन्छु ।’

यस्तै, उनले प्रहरीले स्याउ ल्याउने किसानसँग सय रुपैयाँसम्म घुस मागेको भन्दै स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न पनि अपिल गरेका छन् ।

उनले भने, ‘सभामुख मार्फत गुह मन्त्रीलाई भन्न चाहन्छु जुम्लाबाट स्याउ ल्याएको हो अफिम होइन ठाउँ ठाउँमा प्रहरीले चेक गरेर सय रुपैयाँसम्म घुस मागेको छ किसानसँग त्यस कारण म यहीबाट भन्न चाहन्छु स्याउ ल्याएको हो र स्याउ ल्याएको गाडी कतै पनि चेक नगरियोस् ।’

साथै, भिटिज भिसा प्रकरणमा निरन्तर आन्दोलनरत रहेको भन्दै आज पनि बैठक बहिष्कार गर्ने पनि उनको भनाई छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार