जनकपुर । जनकपुरधाममा प्रत्येक वर्षै यस वर्ष पनि दसैँ बजार (सस्ता बजार) लाग्ने भएको छ ।
प्रत्येक वर्ष लाखौँको सङ्ख्यामा धनुषासहित आसपासका जिल्लाहरूबाट पनि उपभोक्ताहरू किनमेल गर्न आउने दसैँ बजार (सस्ता बजार)लाई व्यवस्थित अझ: आकर्षक बनाउने उद्देश्यले बुधवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घमा सरोकारवाला पक्षहरूबिच छलफल भएको छ ।
छलफलमा बजारको अनुगमन, बजारमा उपलब्ध गराइने सामानहरूको गुणस्तर परीक्षण, सुरक्षा व्यवस्था लगायतका विषयमा छलफल गरिएको छ । साथै प्रत्येक वर्ष भन्दा केही नौलोपन ल्याउनेमा जोड दिइएको छ । त्यसका लागि स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिन सहभागीहरूले जोड दिएका छन् ।
छलफलमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले ४० वर्ष देखि निरन्तर लाग्दै आएको सस्ता बजारमा यस वर्ष थप व्यवस्थित र यस क्षेत्रबाट उत्पादन हुने साबुन, अगरबत्ती, डिटरजेन्ट पाउडर, खाद्य पदार्थ लगायतका उत्पादनहरू किनबेचका लागि राखिने जानकारी दिए ।
अध्यक्ष भण्डारीले असोज ६ गते घटस्थापनाकै दिनदेखि जनकपुरधामस्थित गोपाल धर्मशालामा दसैँ बजार (सस्ता बजार) लाग्ने बताए । छलफलमा आगामी दिनमा जनकपुरधाममा रात्रि कालिन बजार लगाउने बारे वातावरण मिलाउन सम्बन्धित निकायहरूसँग पहल अगाडि बढाउने बारे चर्चा गरिएको थियो ।
प्रतिक्रिया