उदयपुर : नेपाल नेत्र ज्योति संघ उदयपुरले आफ्नो छैठौं स्मृति वृक्षारोपण कार्यक्रम बुधबार सम्पन्न गरेको छ।
२०७६ साल भदौ १८ गते सुरु गरिएको स्मृति वृक्षारोपण अभियानअन्तर्गत यस वर्ष पनि संघ परिसरमा नयाँ बिरुवा रोप्नुका साथै पहिले रोपिएका बिरुवामा मलजल गरिएको हो।
यसअघि २०७८ साल चैत ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी आँखा अस्पतालको उद्घाटनका क्रममा आमाको स्मृतिमा वृक्षारोपण गरेका थिए भने सभामुख देवराज घिमिरेले समेत बुवाको स्मृतिमा वृक्षारोपण गरेका थिए।
हालसम्म परिसरमा १९२ जनाले आफ्ना स्वर्गीय पितृको नाममा रुद्राक्ष, कपुर, अगरउड, मलेसियन साल, आँप, लिची, एभोकाडो, नीम लगायतका बिरुवा रोपिसकेका छन्।
बुधबार सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, सञ्चारिका समूह उदयपुरका अध्यक्ष गंगा राई र नेपाल रेडक्रस उदयपुरका सभापति शम्भु पौडेलले आफ्ना पितृहरूको स्मृतिमा वृक्षारोपण गरे। यसअघि प्रदेश उपसभामुख सृजना दनुवारदेखि स्थानीय पालिकाका प्रमुख–उपप्रमुखहरूले समेत वृक्षारोपण गरिसकेका छन्।
“कहीं नरहोस् अन्धकार, दृष्टि हाम्रो अधिकार” भन्ने मूल नारासहित सुरु गरिएको स्मृति वृक्षारोपणबारे संघका अध्यक्ष भागवत राउतले पितृको सम्झनासँगै वातावरण संरक्षण, हरियाली विस्तार र भविष्यमा आर्थिक लाभसमेत हुने भएकाले यस अभियानलाई निरन्तरता दिइएको बताए।
प्रतिक्रिया